काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा आज स्ववियु निर्वाचनको मतदान सम्पन भएको छ l ६ हजार १४६ विद्यार्थी मतदाता रहेको निर्वाचन बिहान ८ बजेदेखि सुरु भएको थियो ।
निर्वाचनमा करिब ५० प्रतिशत विद्यार्थीले मतदान गरेको क्याम्पसका प्रोक्टर राजेन्द्र कोइरालाले बताउनुभएको छ । १७ वटा विद्युतीय भोटिङ मेसिन मार्फत भएको निर्वाचनमा ७ वटा विद्यार्थी संघसंगठन र समूहले चुनावमा भाग लिएका थिए ।
चैत ५ गते हुन नसकेको स्ववियु निर्वाचनमा आज भएको हो । निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियु र एकीकृत समाजवादी निकट अनेरास्ववियु तालमेल गरी उम्मेदवारी दिएका थिए भने नेविसंघ र अखिल क्रान्तिकारी छुट्टाछुट्टै प्रतिस्पर्धामा छन् ।
केन्द्रीय क्याम्पसमा मुख्यतः अनेरास्ववियु, नेविसंघ र अनेरास्ववियु क्रान्तिकारीबीच प्रतिस्पर्धा छ ।