काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति नपाउने बताउनुभएको छ ।
प्रतिनिधि सभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै उहाँले तीनकुनेमा गत शुक्रबार भएको राजावादी समूहको आन्दोलन हिंस्रक हुनुमा पूर्वराजा शाहको समेत संलग्नता भएको उल्लेख गर्नुभएको हो ।
उहाँले जुनसुकै आवरणमा पनि हिंस्रक आन्दोलन गर्ने जोसुकैलाई कानुनी दायरामा ल्याइने दाबी गर्नुभयो । उहाँले पूर्वराजा शाहले भिडियो वक्तव्य जारी गरी भीड उक्साउने काम गरेको समेत आरोप लगाउनु भयो ।
उहाँले व्यवस्था मासेर फेरि राजा बन्छु भन्नेले उश्रृंखल श्रृंखलावद्ध घटनामा आफ्नो धारणा सर्वजनिक गर्नु पर्दैन ? भन्दै प्रश्न समेत गर्नुभयो । ‘पूर्वराजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते सार्वजनिक भिडियो वक्तव्य जारी गर्दै भिड उत्साउने काम गर्यो । पूर्वराजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न । फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै श्रृंखलावद्ध घटनामा आफ्नो धारणा सर्वजनिक गर्नुपर्दैन ?, ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले पूर्वराजाविरुद्ध अभिव्यक्ति दिँदा राप्रपा सांसदहरूले सभामा उठेर बिरोध जनाउनुभएको छ ।