तीनकुने घटना आपराधिक मानसिकताको उपज : उपेन्द्र यादव

चैत्र १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
तीनकुने घटना आपराधिक मानसिकताको उपज : उपेन्द्र यादव

भक्तपुर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले चैत १५ गते राजावादी प्रदर्शनका क्रममा तीनकुनेमा भएको घटना आपराधिक भएको बताउनुभएको छ । लोकतन्त्रमा सबैले आफ्नो विचार राख्न र बोल्न पाउने भए पनि त्यस दिनको उग्र गतिविधि अपराध गर्ने मानसिकताबाट ग्रसित भएको उहाँले बताउनुभयो ।

रफत सञ्चार क्लब भक्तपुरको आयोजनामा आज भएको पत्रकार सञ्चार संवाद कार्यक्रममा उहाँले राजतन्त्र फर्काउने नाममा भएको हत्या, आगजनी र तोडफोडले लोकन्तान्त्रिक पद्धतिको खिल्ली उडाएको र दोषीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।

३५ वर्षदेखि सत्ताको बागडोर सम्हालेका राजनीतिक दलहरूले जनतालाई के दिए ? किन जनताको दलहरूप्रति आक्रोश बढिरहेको छ ? अध्ययन र आत्मसमीक्षा गर्न नसके देशमा ठूलो दुर्घटना हुने पनि यादवले बताउनुभयो । एकात्मक राज्यव्यवस्थाको अन्त्य गर्दै लोकतान्त्रिक गणतन्त्रको स्थापना भइसकेको अवस्थामा एकात्मक शासन र हिन्दू राज्यसहितका राजतन्त्र स्थापना गर्ने भन्दै सल्बलाउनुको पछि पनि राजनीतिक दलहरूकै कमजोरी रहेको यादवले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बंगलादेश र श्रीलंकामा बहुमत रहेको राज्यसत्ता जनआक्रोशको शिकार बनेको बेलैमा राजनीतिक दलहरूले बुझ्नुपर्छ, अन्यथा संसद्को बहुमतले होइन जनताले पाठ सिकाउने छन् ।”

बिचौलिया, भ्रष्ट र कमिसनखोरको बिगबिगीकै कारण नेपाल सरकारप्रति जनता रुष्ट रहेको बताउँदै राजनीतिक दलहरूले बेलैमै सुधारतर्फ ध्यान दिन नसके देशको अवस्था झनै दयनीय बन्ने यादवले बताउनुभयो । 

संघीय सरकारले नै संघीयता कार्यान्वयनमा अवरोध गरेको र प्रदेशलाई प्रदान गरिएका अधिकारमा रोक लगाएको बताउँदै उहाँले प्रहरी समायोजन ऐन, कर्मचारी समायोजन ऐन लगायत विभिन्न विषय अल्झाएर काम गर्न असक्षम बनाएको आरोप लगाउनुभयो ।

वन विधेयक भू-माफिया र रियल स्टेटका व्यापारीको पक्षपोषण गर्दै वन विनाशको माध्यम बन्ने भएकाले आफ्नो पार्टीले त्यसको विरोध गरेको र सो विधेयक रोकिसकेकाले अन्य विधेयकका विषयमा समर्थन गर्ने उहाँले बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.