काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रतिपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको देवत्वकरण गरेको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद घिमिरेले एउटा कर्मचारीमाथि दलीयकरण गरेर प्रतिपक्षी दलहरूले जग हसाएको समेत आरोप लगाउनुभयो ।
नेपालको कर्मचारीतन्त्र दूधले ननुहाएको भन्दै उहाँले राम्रा/नराम्रा पक्षहरूको विश्लेषण गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “एउटा कर्मचारीलाई लिएर दलीयकरण गरेर संसद्को सम्पूर्ण प्रतिपक्ष हिजो उठेर एउटा कर्मचारीको पक्षमा उभिएको देख्दा मलाई त लाज पनि लाग्यो । धेरै जना यहाँ प्रधानमन्त्री पनि हुनुभएको छ, मन्त्री पनि हुनुभएको छ । एक जना कर्मचारीका लागि दलीयकरण गरेर यो जग हसाउने काम नगरौं । उहाँको देवत्वकरण पनि नगरौं । केही राम्रा पक्ष पनि होलान् । केही नराम्रा पक्ष पनि होलान् । नेपालको कर्मचारी तन्त्र दुधले नुहाएको छैन । यो कुरामा क्लियर हुनुस् ।’
प्रमुख सचेतक घिमिरेले यसैगरी देवत्वकरण गर्ने भए घिसिङलाई नै प्रतिपक्षी दलको अध्यक्ष बनाउन व्यंग्य पनि गर्नुभयो । “देवत्वकरण गरेर उहाँलाई टाउकोमै बोकेर हिँड्ने हो भने म प्रतिपक्षी दलसँग आग्रह गर्छु, सबै प्रतिपक्षी दलहरूको अध्यक्ष उहाँलाई बनाइदिऔं ढुक्क हुन्छ त्यति भएपछि ।”