रुकुम पश्चिम । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले गैरकानुनी आप्रवासीहरूलाई फर्काउने नीति लिएसँगै नेपालका विभिन्न ठाउँबाट अवैध तरिकाले त्यहाँ पुर्याइएकाहरूमा त्रास पैदा भएको छ । दलाललाई लाखौं रकम बुझाएर अमेरिका पुगेका र पुग्दै गरेकाहरूलाई स्वदेश फर्किनुपर्ने सम्भावना बढेपछि स्वदेशमा भएका आफन्त चिन्तामा छन् । आज मात्रै कागजात नभएका ९ जना नेपालीलाई फर्काएको अमेरिकाले ट्रम्प सत्तामा आएसँगै ३३ जनालाई डिपोर्ट गरी नेपाल फर्काएको थियो ।
अमेरिका धेरैका लागि सपनाको देश । यही देशमा छन् उनीहरूका छोराछोरी र आफन्त । कोही पुगेको वर्षौं भयो । कोही पुगेको केही महिना । अनि कोही बाटोमा अलपत्र छन् । कोही पुगेर जेलमा । पश्चिम नेपालका प्रायः घरमा अमेरिकासँग जोडिएका अनेकन् कथा-व्यथाहरू छन् ।
मानव तस्करकै चंगुलमा परेर हिँडेका कति नेपाली बाटोमै छन् भन्ने यकिन छैन । तस्करले अमेरिका पुग्न खोज्नेहरूलाई १३ देशको कठिन रूट पार गराउने गरेका छन् । नेपालबाट भारत अथवा दुबईसम्म लैजाने र त्यहाँबाट एजेन्ट मार्फत रूस, स्पेन, बोलिभिया, पेरु, इक्वेडर र कोलम्बिया हुँदै पानामा पुर्याउने गरेका छन् । जसका कारण अमेरिकाको चक्करमा रहेकाहरूका आफन्तमा ठूलो त्रास पैदा भएको छ ।
लाखौं रुपैयाँ ऋण खोजेर अवैध ढंगले अमेरिका पुगेका र बाटोमा रहेकाहरूका आफन्तले उनीहरू फर्काइएपछि के गर्ने, कसो गर्ने भन्नेबारे सोच्न नसकेको बताए । करोड बराबरको सावा र ब्याज नै बराबर हुन थालेपछि सन्तान अमेरिका पुगेर काममै लागे पनि तिर्न धेरै समय लाग्ने उनीहरूको दुःखेसो छ ।
अमेरिकामा ६ महिनादेखि काम गरिरहेका रुकुमकै एक जनाले नाम नबताउने सर्तमा आफूहरू डरले काममै जान छोडेको बताए । रुकुम पश्चिमबाट के कति संख्यामा अमेरिका पुगेका छन् र उनीहरूको अवस्था के छ भनेर कुनै आधिकारिक तथ्यांक यहाँका सरकारसँग छैन ।
नेपालीलाई पठाउने मानव तस्करको संगठित गिरोहमाथि अनुसन्धान गर्नुपर्ने भएकाले फिर्ता गरिएकाहरूमाथि प्रहरीले सोधपुछ गर्ने गरेको छ । कतिपयले आफूलाई फसाउनेमाथि उजुरी दिए पनि अधिकांशले पठाउने गिरोहलाई नचिनेको बयान दिएका छन् । कठिन रूट र मृत्युको मुखमा राखेर नेपालीहरूलाई अमेरिका पठाउने भन्दै ठग्ने संगठित गिरोहसम्म पुग्न फिर्ता गरिएकाहरूमाथि प्रहरीले निगरानी बढाएको हो ।