लागूऔषध नियन्त्रण र रोकथाम एउटा निकायबाट मात्र सम्भव छैन : प्रहरी महानिरीक्षक कुँवर

फाल्गुन १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
लागूऔषध नियन्त्रण र रोकथाम एउटा निकायबाट मात्र सम्भव छैन : प्रहरी महानिरीक्षक कुँवर

काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले लागूऔषध नियन्त्रण र रोकथाम कुनै एक मात्र निकायबाट सम्भव नरहेको बताउनुभएको छ । शनिबारबाट नेपाल प्रहरीले सुरू गरेको लागूऔषध विरुद्धको महाअभियानको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले सामूहिक दायित्वको विषयलाई सबै मिलेर नियन्त्रण गर्न जरुरी रहेको बताउनुभयो । उहाँले लागूऔषध नियन्त्रणका लागि व्यक्ति, समाज, विभिन्न पेशाकर्मी, राजनीतिक व्यक्तित्व, समाजसेवी, अभिभावक, स्थानीय निकाय, समाज र सरोकारवाला समेतको संयुक्त सहकार्य अपरिहार्य रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “लागूऔषध नियन्त्रण र रोकथाम कुनै एक मात्र निकायबाट सम्भव हुँदैन । यो सामूहिक दायित्वको विषय हो । यसको लागि प्रो एक्टिभनेस पनि महत्त्वपूर्ण रहेको छ । यसमा व्यक्ति, समाज, विभिन्न पेशाकर्मी, राजनीतिक व्यक्तित्व, समाजसेवी, अभिभावक, स्थानीय निकाय, समाज र सरोकारवाला समेतको संयुक्त सहकार्य अपरिहार्य छ ।”

समाजका विभिन्न तह र क्षेत्रको समान ढंगले सक्रिय सहभागितामा सामाजिक विकृति र अपराधको रूपमा रहेको लागूऔषध रहित समाजको परिकल्पना गर्ने उद्देश्यका साथ काठमाडौं उपत्यकाभित्र यस अभियान सुरू गरिएको पनि उहाँले बताउनुभयो । उहाँले लागूऔषध कारोबार तथा दुर्व्यसनीका घटना नियन्त्रण र निरूपणका लागि नेपाल प्रहरीले चाल्नुपर्ने कदममा खरो ढंगबाट प्रश्तुत हुन निर्देशन दिनुभयो ।

विश्वमा करिब ३० करोड र एशियामा मात्रै करिब ६ करोडको हाराहारीमा लागूऔषध सेवनकर्ताहरू रहेको उहाँले बताउनुभयो । जसमध्ये गाँजा र सोबाट निर्मित लागूऔषधको प्रयोगकर्ता झन्डै ८० प्रतिशत रहेको बताउनुभयो । 

लागूऔषध सम्बन्धी देशभर दर्ता भएका मुद्दाहरू प्रत्येक आर्थिक वर्षमा करिब ७ प्रतिशतको हाराहारीमा बढ्दो अवस्थामा रहेको पनि उहाँले बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement