काठमाडौं । आज देशैभरको मौसममा बदली आएको छ । पहाडी भू-भागका केही स्थानका मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भएको छ भने हिमाली भेगमा हिमपात भएको छ ।
काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा भएको बदलीसँगै आकाश धुम्म र कालो बादलले भरिएको छ । घाम नलागेका कारण तापक्रम पनि घटेर चिसो अनुभव भएको छ । अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
आगामी तीन दिन उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, कृषि, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
हुम्ला, बाजुरा र जाजरकोटमा हिउँदे वर्षासँगै हिमपात
बाजुराको उच्च लेकाली भेगमा हिजोदेखि नै हिमपात भएको छ भने आज पनि वर्षा भइरहेको छ । बडीमालिका, बुढीनन्दा, रानीसैन, खप्तड, लगायतका क्षेत्रमा वर्षासँगै हिमपात भएपछि चिसो बढेको छ । पानी परेसँगै बालीनाली सप्रने भएकाले किसान खुसी भएका छन् ।
वर्षाका कारण चैते धान रोप्ने किसानलाई समेत राहत मिलेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम सहनीले बताउनुभयो। उता डोल्पा लगायत हिमाली जिल्लामा बिहीवारदेखि हिमपातसँगै पानी परिरहेको छ । लामो समयपछि हिमपात र पानी पर्दा डोल्पाका कृषक र डोल्पाबासी खुसी छन् ।
हिउँसँगै लगातार परेको पानीले चिसो बढे पनि आम्दानीको मुख्य श्रोत मानिने बहुमूल्य जडीबुटी यार्चागुम्बु उत्पादनमा वृद्धि हुने अपेक्षामा डोल्पालीहरु खुसी छन् । हिमपात र पानीले नदी, इनार, पोखरी , खेतियोग्य जग्गा जमिन आदिमा पानीको मात्रा बढ्ने भएकाले सिँचाइका लागि पर्याप्त पानी उपलब्ध हुने देखिएको छ ।
डोल्पामा पानी र हिउँ परेपछि तत्काल लगाईने स्याउ, ओखर खेती राम्रो हुने र गहुँ, जौ, तोरी लगायतका बाली र फलफूल खेती समेतमा हिमपात र पानीले राम्रो उत्पादन गर्ने आशा गरिएको छ ।
यसैगरी, लगातारको खडेरीले बालीनाली सुक्दै गएको अवस्थामा गए रातिदेखि परेको वर्षाले जाजरकोटका किसान पनि खुसी भएका छन् । मौसममा आएको परिवर्तनसँगै बिहीबार रातिदेखि पानी परिरहेको छ । वर्षाले गहुँलगायतका हिउँदे बालीका लागि निकै फाइदा पुर्याएको कृषि विकास कार्यालय जाजरकोटका निमित्त कार्यालय प्रमुख नारायण सापकोटाले बताउनुभयो ।