नेपाली विद्यार्थीलाई विश्वविद्यालय फर्कन केआईआईटीको आग्रह, यात्राको सबै खर्च बेहोर्ने

फाल्गुन १५, २०८१ |किरण पौडेल
नेपाली विद्यार्थीलाई विश्वविद्यालय फर्कन केआईआईटीको आग्रह, यात्राको सबै खर्च बेहोर्ने

काठमाडौं । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी-केआईआईटीले स्वदेश फर्किएका नेपाली विद्यार्थीलाई नियमित कक्षामा फर्कन आग्रह गर्दै यात्राको सबै खर्च बेहोर्ने प्रतिबद्धता जनाएको छ ।

विश्वविद्यालयले अभिभावकहरुलाई एक पत्र लेख्दै भारत फर्कनका लागि लाग्ने सबै खर्चसमेत आफैँले बेहोर्ने उल्लेख गरेको हो । विश्वविद्यालयका उपकुलपति सरञ्जित सिंहद्वारा हस्ताक्षरित पत्रमा यही फेब्रुअरी १८ देखि नियमित रुपमा कक्षा सञ्चालन भइसकेको समेत उल्लेख छ । तर नेपाल आएका कोही पनि विद्यार्थी फर्किएका छैनन् ।

विश्वविद्यालयमा हाल ६५ भन्दा बढी मुलुकका तीन हजारभन्दा बढी विदेशी विद्यार्थी अध्ययन गरिरहेका छन् । केआईआईटी विश्वविद्यालयका नेपाली विद्यार्थीले स्वदेशमै पढ्न चाहेको खण्डमा क्रेडिट आवर ट्रान्सफर दिन तयार रहेको भन्दै पूर्वाञ्चल, काठमाडौँ र त्रिभुवन विश्वविद्यालयले सूचना जारी गरिसकेका छन् ।

केआईआईटीमा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत फेला परेको विषयलाई लिएर प्रदर्शन भएपछि विश्वविद्यालय प्रशासनले गत फागुन ५ गते सबै नेपाली विद्यार्थीलाई निस्कासन गरेको थियो । नेपाल सरकारले कूटनीतिक पहल चालेपछि विश्वविद्यालयले छात्रावासमै फर्किएर अध्ययनमा सहभागी हुन आग्रह गरेको थियो । तर विद्यार्थीहरुले सुरक्षाको प्रत्याभूति नभएसम्म र न्यायप्राप्ति नभएसम्म विश्वविद्यालय नफर्कने अडान राखेका छन् ।


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement