काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई स्पष्टीकरण सोध्ने अधिकार ऊर्जा मन्त्रालयलाई नभएको बताउनुभएको छ । ऊर्जा मन्त्रालयमा आज स्पष्टीकरण बुझाउँदै कार्यकारी निर्देशक घिसिङले आफूलाई पुनः स्पष्टीकरण सोध्नु कानुन र न्यायको सिद्धान्त प्रतिकूल रहेको जिकिर गर्नुभएको हो ।
उहाँले आफूमाथि लगाइएका सबै आरोप मनोगत रहेको दाबी समेत गर्नुभएको छ । आफूलाई मन्त्रिपरिषद्ले नियुक्त गरेकाले स्पष्टीकरण सोध्ने अधिकार पनि मन्त्रिपरिषद्लाई नै भएको उहाँको स्पष्टीकरणमा उल्लेख छ ।
कार्यकारी निर्देशक घिसिङले कुनै कसुरबिनै आफूलाई स्पष्टीकरण सोधिएको पनि दाबी गर्नुभएको छ । यसअघिका स्पष्टीकरण के कारण चित्तबुझ्दो भएन त्यो पनि उल्लेख नभएको घिसिङको भनाइ छ । ऊर्जामन्त्री दीपक खड्काले सचिव सुरेश आचार्य मार्फत् सोधेको स्पष्टीकरण मनोगत रहेको दाबी उहाँको छ ।
ऊर्जा मन्त्रालयले मंगलबार घिसिङलाई पाँचौं पटक स्पष्टीकरण सोधेको थियो ।