नेपाल एफएटीएफको ‘ग्रे लिस्ट’मा

फाल्गुन ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाल एफएटीएफको ‘ग्रे लिस्ट’मा

काठमाडौं । नेपाल सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानुन कार्यान्वयन तथा अनुसन्धानमा लापरबाही गरे बापत फाइनान्सियल एक्सन टास्क फोर्सको ग्रे लिस्टमा परेको छ । फ्रान्सको राजधानी पेरिसमा आज बसेको फाइनान्सियल एक्सन टास्क फोर्सको पूर्ण बैठकले नेपाललाई ग्रे लिस्टमा राखेको हो ।

नेपालका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव फणिन्द्र गौतम र नेपाल राष्ट्र बैंकका निर्देशक हरिकुमार नेपाल बैठकमा सहभागी हुनुहुन्थ्यो । सम्पत्ति शुद्धीकरण निवारणको कानुन कार्यान्वयनमा प्रगति गर्न नसकेको भन्दै नेपालको अन्तर्राष्ट्रिय स्तरमा आलोचना हुँदै आएको छ । नेपालले भने सुधार गरेको दाबी गरिरहेको छ ।

कानुन निर्माणपछि कार्यान्वयनको अवस्था हेर्दा ११ सूचकमध्ये ७ मा नेपालको अवस्था भने राम्रो छैन । सन् १९८९ मा स्थापना भएको फाइनान्सियल एक्सन टास्क फोर्समा नेपाल २००२ मा आबद्ध भएको हो । उक्त संस्थाले सन् २००५ र २०१० मा गरी दोस्रो पटक नेपालबारे अध्ययन गरेको थियो । दोस्रो अध्ययनपछि नेपाल पहिलो पटक ग्रे लिस्टमा परेको थियो । त्यसपछि सरकारले केही नीतिगत सुधार गरेपछि सन् २०१४ मा नकारात्मक सूचीबाट नेपाललाई हटाइएको थियो ।

सन् २०२२ मा तेस्रो पटक भएको अध्ययनपछि टास्क फोर्सले नेपाललाई थप नीतिगत सुधार गर्न सुझाव दिँदै निगरानीको सूचीमा राखेको थियो । तर उसले अपेक्षा गरे बमोजिम थप नीतिगत सुधार र कानुन कार्यान्वयनमा नेपालले समयमै ध्यान दिन नसक्दा ग्रे लिस्टमा परेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement