माग पूरा नभएसम्म केआईआईटी नफर्कने विद्यार्थीको अडान, भारतीय विदेश मन्त्रालय भन्छ- नेपाली पक्षसँग सम्पर्कमै छौं

फाल्गुन ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
माग पूरा नभएसम्म केआईआईटी नफर्कने विद्यार्थीको अडान, भारतीय विदेश मन्त्रालय भन्छ- नेपाली पक्षसँग सम्पर्कमै छौं

काठमाडौं । भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयका विद्यार्थीहरूले अध्ययनका लागि कलेज जानुपर्ने बाध्यता रहे पनि तत्काल कलेज फर्कन सुरक्षित नभएको बताएका छन् । ओडिसाबाट कलेजले निकालेपछि ४ दिन लगाएर स्वदेश फर्किएका विद्यार्थीहरूले कुटपिटमा सामेल भएका विश्वविद्यालयका सबै कर्मचारी र पदाधिकारीहरूलाई हटाउनुपर्ने माग राखेका छन् । विश्वविद्यालयले अन्य देशका विद्यार्थी र नेपाली विद्यार्थीलाई गर्ने व्यवहार नै फरक भएको पनि उनीहरूले बताए ।

भारतस्थित नेपाली राजदूतावास र नेपालको परराष्ट्र मन्त्रालयले यस विषयलाई कूटनीतिक माध्यमबाट पहल भइरहेको जनाएको छ । तर विद्यार्थीहरूले १६ बुँदे माग राखेर लिखित रूपमा माग सम्बोधन नभएसम्म विश्वविद्यालय नफर्कने जनाएका छन् ।

यसैबीच, भारतीय विदेश मन्त्रालयले भने केआईआईटीका विषयमा अनुसन्धान भइरहेको र विद्यार्थीको सुरक्षामा गम्भीर रहेको बताएको छ । नेपाली पक्ष र विश्वविद्यालसँग निरन्तर सम्पर्कमा रहेको पनि भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

यता विद्यार्थीहरूले भने घटनाको निष्पक्ष अनुसन्धान र आफ्नो सुरक्षाको सुनिश्चितता नभएसम्म विश्वविद्यालय नफर्कने बताएका छन् ।

रूपन्देहीमा र्‍याली

यसबीच प्रकृति लम्सालको न्यायको लागि गृहजिल्ला रूपन्देहीमा शान्तिपूर्ण विरोधसभा तथा र्‍याली निकालिएको छ । भैरहवाको देवकोटा चोकबाट सुरू भएको विरोध र्‍याली बैंक रोड, मिलनचोक हुँदै जिल्ला प्रशासन कार्यालयमा गएर टुंगिएको थियो । 

निष्पक्ष न्याय र दोषीउपर कारबाहीको माग राखी मुखमा कालो मास्क लगाएका सहभागीले भैरहवा बजार परिक्रमा गरेका थिए । र्‍यालीमा नागरिक समाज, उद्योगी व्यवसायी, विभिन्न संघसंस्था र विद्यार्थी सहभागी थिए ।

यस्तै घटनापछि असुरक्षा महसूस गरेका नेपाली विद्यार्थी स्वदेश फर्किइरहेका छन् । बेलहिया नाका भएर अहिलेसम्म ३६ जना विद्यार्थी फर्किएको रूपन्देही प्रहरीले जनाएको छ । जसमा रूपन्देहीका ३०, कास्की ३, कैलाली, बाँके र स्याङ्जाका १-१ जना रहेका छन् । यसअघि रानी, वीरगन्ज तथा काँकडभिट्टा हुँदै पनि थुप्रै विद्यार्थी नेपाल फर्किइसकेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement