काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल सम्बन्धी विधेयकको मस्यौदा लेख्ने राजनीतिक दलहरू नै त्यसको विरोधमा उत्रिएको टिप्पणी गर्नुभएको छ । शुक्रबार ‘राजेशकाजी श्रेष्ठ : व्यक्तित्व र योगदान’ नामक पुस्तक विमोचन समारोहलाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै हिजो टिकटक बन्द गर्नेहरू नै अहिले बोल्न पाउनुपर्छ भनेर उफ्रिने गरेको बताउनुभयो ।
उहाँले अध्यक्ष दाहाललाई त्यति बेला टिकटक किन बन्द गरेको ? भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले भन्नुभयो, “केही मान्छेले हिजो मसँगै बसेर कानुनको मस्यौदा गरेका हुन् । अहिले सामाजिक सञ्जालको विषयमा जो हल्ला गर्ने, चर्का कुरा गर्ने र विरोध गर्ने संसद्मा भएका पार्टीहरू खासगरी माओवादी लगायतका पार्टीहरूले हिजो हामीसँगै बसेर कानुनको मस्यौदा बनाएका हुन् । अनि टिकटकमा प्रतिबन्ध नै लगाएका हुन् । अहिले बहुत हिमायति निस्किएका छन् फेरि । बोल्न त पाउनुपर्छ भनेर उफ्रिएका छन् । टिकटकलाई किन प्रतिबन्ध लगाएको त त्यति बेला ? जे पनि होइन ठीक कुरा बोल्नुपर्छ ।”
उहाँले व्यवस्थामा मात्र नभई जनताको अवस्थामा समेत परिवर्तन आएको बताउनुभयो । उहाँले ७७ वटै जिल्लाका सदरमुकामहरूमा मोटर बाटो पुर्याएको दाबी पनि गर्नुभयो ।