दोलखा । मानिस र जीवजन्तुको जीवनको आधार हो जलाधार क्षेत्र । अध्ययनविनाका विकासे आयोजनाका नाममा जलाधार क्षेत्रमा हुने उत्खननले यस्ता क्षेत्र संकटमा मात्रै परेका छैनन् पानीका मूल सुक्ने क्रम बढदो छ । अर्कोतर्फ जलवायुमा भएको परिवर्तनले जलाधार क्षेत्र मासिँदै गएको छ । जसको प्रत्यक्ष असर मानव र जीवजन्तुमा पर्दै गएको छ ।
दोलखामा ठूला-साना गरी झन्डै ४० जलाधार क्षेत्र छन् । तर, संरक्षण गर्नुपर्ने यस्ता जलाधार क्षेत्रको दिनदिनै विनास भइरहेको छ । पछिल्लो समय यस्ता जलाधार क्षेत्रको अस्तित्व संकटमा पर्ने गरी जलविद्युतदेखि विकासका नाममा सडक बनाउन डोजर चलाइँदा पानीका स्रोत सुकेका छन् । भूकम्पपछि कतिपय गाउँका पानी स्रोत भएका जलाधार क्षेत्रका मुहान सुकेका छन् ।
अर्कोतर्फ जलवायु परिवर्तनको असर यस्ता जलाधार क्षेत्र थप संकटमा परेका छन् । प्राकृतिक सन्तुलन नै बिगार्ने गरी जलाधार क्षेत्रमै उत्खनन हुँदै आएको छ । जसको प्रत्यक्ष असर मानिसको जीविकोपार्जन, पर्यावरण र जलचरदेखि पंक्षी र जंगली जनावरमा देखिएको हो ।
त्यसो त जलाधार क्षेत्र संरक्षण गर्ने दायित्व सम्बन्धित स्थानीय तहको पनि हो । तर यसतर्फ स्थानीय तहले खासै चासो राखेको पाइँदैन ।
जलवायु परिवर्तनको असरले पिउने पानीका स्रोत सुक्दै जाादा पानीको मुख्यस्रोत जलाधार संरक्षण नगरे भविष्यमा थप संकट गहिरिने निश्चित छ । जलाधार क्षेत्रको विनास हुँदा कृषि उत्पादन मात्र घटेको छैन उत्पादकत्वमा पनि कमी आएको छ । योसँगै भूक्षय र पहिरोको जोखिम बढिरहेको जानकार बताउँछन् ।