काठमाडौं । बागमती प्रदेश सरकारले भौतिक रूपमा रहेका ढड्डाको विद्युतीय अभिलेखन सुरू गरेको छ । यातायात व्यवस्था कार्यालय, गुर्जुधाराका कार्यालय प्रमुख नेत्रप्रसाद भट्टराईले भौतिक रूपमा प्रवाह भइरहेको सेवालाई विस्थापन गरी अनलाइनबाट सेवा प्रवाह गर्ने उद्देश्यले काम सुरू गरेको बताउनुभयो ।
विद्युतीय अभिलेखन सुरू भएसँगै भौतिक रूपमा रहेका अभिलेखहरू हराउने, नष्ट हुने तथा सेवाग्राहीले लाइन लाग्नुपर्ने बाध्यताबाट मुक्ति मिल्ने उहाँले बताउनुभयो । उहाँले २५ लाखको संख्यामा रहेको यातायातको अभिलेख दुई वर्षभित्र डिजिटाइज गरिसक्ने गरी काम थालिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हाम्रो बागमती प्रदेशभित्र जति पनि रहेका ढड्डा फाइलहरू छन्, ती ढड्डा फाइलहरूलाई विद्युतीय अभिलेख सिर्जना गर्ने । डिजिटलाइजेसन गरेर तिनलाई हामीले सिस्टममा हाम्रो एउटा भेइकल रजिस्ट्रेसन छ, त्यो सिस्टममा आबद्ध गर्ने र त्यो गरी सकेपछि अहिले जुन भौतिक रूपमा सेवा प्रवाह गरिरहेका छौं, त्यो सेवालाई विस्थापन गर्ने र अनलाइनबाट सेवा प्रवाह गर्ने एउटा सोच र उद्देश्यका साथ मन्त्रालयले अगाडि सारेको यो कार्यक्रम हो ।”