काठमाडौं । यस वर्षको पर्यटकीय सिजनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राति सञ्चालन नहुने भएको छ । अहिले विमानस्थल राति ११ बजेदेखि बिहान ७ बजेसम्म बन्द हुने गरेकोमा आगामी अप्रिल १ देखि राति १२ बजेदेखि बिहान ६ बजेसम्म त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द हुने भएको छ ।
विमानस्थल स्तरोन्नति गुरुयोजना अन्तर्गत अहिले धावनमार्गको ७० मिटरभित्रको काम भइरहेको छ । अप्रिल १ देखि ७० मिटर बाहिरको काम सुरू हुने भएकोले विमानस्थल राति बन्द गर्नु पर्ने आयोजनाले जनाएको छ ।
अहिले त्रिभुवन विमानस्थल स्तरोन्नति गुरुयोजना अन्तर्गत समानान्तर ट्याक्सी वे, ह्याङ्गर र एप्रोनको काम भइरहेको छ । अहिलेसम्म समानान्तर ट्याक्सी वेको निर्माणको काम ६० प्रतिशत पूरा भएको छ भने कोटेश्वरतर्फको ट्याक्सी वेको काम ५२ प्रतिशत सकिएको छ ।
त्यस्तै ह्याङ्गर र एप्रोनको काम ४५ प्रतिशत सकिएको छ । आयोजनाले अहिले भइरहेको काम तोकिएको समय अर्थात् मार्च ३१ सम्म सकिने दाबी गरेको छ ।