काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नालोजी (केआईआईटी) का ३ सय विद्यार्थी नेपाल आइपुगेका छन् । केआईआईटी प्रशासनले होस्टलबाट निकालेपछि अलपत्र परेकाहरू विभिन्न नाका हुँदै स्वदेश आएका हुन् ।
वीरगन्ज नाका हुँदै १५६ जना विद्यार्थी नेपाल फर्किएका छन् । तीमध्ये ५८ जनालाई वीरगन्जस्थित साउथ जोन सेकेन्डरी स्कुलले आफ्नो बसमा राखेर उनीहरूका घरसम्म छोडेको छ । वीरगन्ज हुँदै फर्किएका विद्यार्थीले कलेज प्रशासनले आफूहरूमाथि ज्यादती गरेकाले फर्किएको बताएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
त्यसअघि विराटनगर नाका हुँदै मंगलबार र बुधबार गरी ७८ जना विद्यार्थी फर्किएका छन् भने काँकडभिट्टा नाका भएर १६ जना विद्यार्थी फर्किएका छन् । अन्य नाकाबाट पनि विद्यार्थीहरू फर्किरहेको जनाइएको छ ।
केआईआईटी विश्वविद्यालयमा स्थिति केही सामान्य हुन थालेको छ । अहिले विश्वविद्यालयको होस्टलमा १५० नेपाली विद्यार्थी रहेका छन् । क्याम्पसको पढाइ जारी रहे पनि नेपालीहरू भने प्रकृति लम्सालले न्याय नपाएसम्म कक्षामा नजाने अडानमा छन् । यस्तै, आज दिनभर पनि नेपाली दूतावासबाट खटिएका कन्सुलर सन्जीव शर्मा र नवीन अधिकारीले विद्यार्थीसँग छलफल गर्नुभएको थियो । उहाँहरू अझै केही दिन ओडिसामै रहने बताइएको छ ।
यसैबीच, केआईआईटीले आफ्नो सामाजिक सञ्जाल एक्स मार्फत् स्वर्गीय प्रकृति लम्सालको नाममा नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेको छ । यो कदमले प्रकृति जस्ता थुप्रै होनहार विद्यार्थीलाई कुनै वाधाबिना शिक्षा अघि बढाउन सहयोग पुग्ने केआईआईटीले उल्लेख गरेको छ ।
यसबीच केआईआईटी विश्वविद्यालयका उपकुलपति शरनजित सिंहले विश्वविद्यालयमा भएको घटनाप्रति माफी माग्नुभएको छ । नेपाली अभिभावकसँग आज गरिएको जुम मिटिङमा उपकुलपति सिंहले घटनाका लागि जस्तोसुकै सजाय दिए पनि स्वीकार गर्न तयार रहेको बताउनुभयो ।