आफ्नै घरमा १२ वर्षदेखि कैदी जीवन बिताइरहेका कञ्चनपुरका कपिल

फाल्गुन ६, २०८१ |हरिश्चन्द्र बाग
आफ्नै घरमा १२ वर्षदेखि कैदी जीवन बिताइरहेका कञ्चनपुरका कपिल

कञ्चनपुर । जब परिवार, समाज र व्यवस्था असमर्थ हुन्छन्, तब एउटा जीवन कसरी चार पर्खालभित्र थुनिन्छ भन्ने एक उदाहरण हो कञ्चनपुरको बेलडाँडीका कपिल भट्टको कथा । जसले सही उपचार र न्याय नपाउँदा १८ वर्षको कलकलाउँदो उमेरमा निकै कष्ट र सकसपूर्ण जीवन बाँचिरहेका छन् ।

कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर २ मा बस्छन् १८ वर्षिया कपिल भट्ट, जो आफ्नै घरभित्र एक बन्द कोठामा कैदी छन् ।

कपिलका अभिभावकको भनाइ अनुसार सानो छँदा कपिलको अवस्था राम्रै थियो । तर ५/६ वर्षको उमेरदेखि मानसिक समस्या गहिरिँदै गयो । परिवारले लाखौँ खर्च गर्‍यो, नेपाल र भारतका विभिन्न अस्पतालहरूमा लगियो, तर कपिल निको भएनन् । उल्टै अवस्था झन् बिग्रियो ।

‘६ वर्षको हुँदादेखि अस्पताल लैजान थालेका हौं । १६ वर्षको हुँदासम्म निरन्तर अस्पताल लग्यौं । केही फरक परेन । दिसापिसाब कपडामा छोडेको त एक वर्ष मात्रै भयो । पहिले त भन्ने गर्थ्यो,’ कपिलकी आमा मानमती भट्टले भन्नुभयो ।

अस्पतालबाट घर ल्याइसकेपछि गाउँका छिमेकीहरू कपिलको क्रियाकलापप्रति असन्तुष्ट बने । कपिलका परिवारले केही समय महेन्द्रनगरस्थित एक संस्थामा रकम खर्चेर कपिललाई राखे । तर कपिलको स्थिति सुध्रिनुको सट्टा झन् बिग्रियो । परिवारले पुनः घरमै फिर्ता ल्याई एक बन्द कोठामा थुन्नुपर्‍यो । केही समययता कपिल बन्द कोठामा कैदी छन् । उनको नुहाइधुवाई सबै त्यसै कोठामा गरिन्छ । जुन देख्दा नै कहालीलाग्दो छ ।

उक्त घरमा तीन दिदीबहिनी र एक कपिल छन् । दुई दिदीहरूको विवाह भइसक्यो । एक बहिनी १० वर्षकी छन् । कपिलका बुवा भारतमा मजदुरी गर्नुहुन्छ । छोराको अवस्थाबाट निराश भएर वर्षौदेखि घरमा फर्किनु भएको छैन । कपिलको सबै स्याहार आमाकै काँधमा छ । तर कपिलको उमेर बढ्दै जाँदा परिवारले उनको स्याहार गर्न नसक्ने स्थिति छ ।

गाउँका मानिसहरू बोल्छन् । कोही कपिलको अवस्थालाई सहानुभूति देखाउँछन् त कोही झन निराशा भरिदिन्छन् । परिवार र आफन्तहरू चाहन्छन् कि, सरकारी निकाय वा कुनै सङ्घसंस्थाले कपिलको जिम्मा लिइदिए हुन्थ्यो । बेलडाँडी गाउँपालिकासँग आफ्नो स्याहार केन्द्र छैन । गाउँमा त्यो सञ्चालनको कुनै योजना पनि छैन र पालिकाले अहिले त्यो क्षमता पनि राख्दैन ।

के कपिलले मानसिक उपचारको सुविधा पाउनु पर्दैन ?


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।