काठमाडौं । भारत उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले निस्कासन गरिएका नेपाली विद्यार्थी फर्काउन पहल गरिरहेको छ । अहिले विश्वविद्यालय परिसरमा सुरक्षाकर्मी तैनाथ गरेर सुरक्षा प्रदान गरिएको भारतीय सञ्चार माध्यम एएनआईले जनाएको छ ।
मानसिक र शारीरिक दुर्व्यवहार भोगेकी नेपाली विद्यार्थी प्रकृति लम्साल मृत फेला परेको विषयलाई लिएर नेपाली विद्यार्थीले न्यायका लागि प्रदर्शन गरेपछि विश्वविद्यालय प्रशासनले सबै नेपाली विद्यार्थीलाई हिजो निस्कासन गरेको थियो । विश्वविद्यालयको छात्रावासबाट हिजो बिहान कुटपिट र गालीगलौज गर्दै विश्वविद्यालय प्रशासनले जबर्जस्ती लखेटेका नेपाली विद्यार्थीहरु रेल्वे स्टेसनमा अलपत्र परेका थिए भने कतिपय होटलमा बस्न वाध्य भएका थिए ।
दिल्लीस्थित नेपाली दूतावासको पहलपछि विश्वविद्यालयले माफी माग्दै निस्कासन गरेका विद्यार्थीलाई फर्किन आह्वान गरेको भारतका लागि नेपाली राजदूत शंकर शर्माले जनाउनु भएको छ । कान्तिपुर टेलिभिजनसँग कुरा गर्दै राजदूत शर्माले विश्वविद्यालय प्रशासनले घटनाप्रति माफी मागेको र बस पठाएर नेपाली विद्यार्थीलाई रेल स्टेसनबाट धमाधम छात्रावासमा फर्काइरहेको जानकारी दिनुभयो । यद्यपि, विश्वविद्यालयले नेपाली विद्यार्थीलाई फर्किन आह्वान गरेको पत्र जारी गरे पनि नेपाली विद्यार्थीमाथि भएको दमनबारे आधिकारिक पत्रमार्फत माफी भने मागेको छैन ।
विश्वविद्यालयले नेपाली विद्यार्थीको सुरक्षाको प्रत्याभूति दिलाउने पनि आश्वासन दिएको शर्माले जानकारी दिनुभयो । विश्वविद्यालयले निस्कासन गरेपछि कतिपय विद्यार्थी भने नेपाल फर्किने क्रममा छन् ।
घटनापछि शिक्षा र परराष्ट्र मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको भन्दै नेपाली विद्यार्थीको सुरक्षा र दोषीलाई कारबाहीको माग गरेको थियो । विश्वविद्यालयको कदमको नेपाल र भारतमा चर्को आलोचना भइरहेको छ ।
प्रकृति लम्सालमाथि उत्पीडन गर्ने व्यक्तिलाई भारतीय प्रहरीले हिजै पक्राउ गरिरसकेको छ । अवस्था तनावग्रस्त बनेपछि विश्वविद्यालय परिसरमा सुरक्षा तैनाथी बढाइएको भुवनेश्वर-कटक पुलिस आयुक्त सुरेश दत्त सिंहलाई उद्धृत गर्दै एएनआईले लेखेको छ ।