काठमाडौं । केपी शर्मा ओली नै प्रधानमन्त्री भएका बेला २०७५ सालमा सुरु गरिएको थियो- ‘सांसद र प्रधानमन्त्रीबीच प्रश्नोत्तर कार्यक्रम’ । र आज भएको सांसदहरूसँगको प्रश्नोत्तरमा प्रधानमन्त्री ओलीले प्रश्न नै मन नपरेको भन्दै प्रतिप्रश्न गर्दै उत्तर दिनै अस्वीकार गर्नुभयो । यता पूर्वनिर्धारित प्रश्नको उत्तर नदिएर प्रधानमन्त्रीले सदनकै अपमान गरेको भन्दै विपक्षीले आपत्ति जनाएका छन् ।
सरकारलाई जिम्मेवार बनाउन प्रतिनिधि सभा नियमावलीमै व्यवस्था गरेर प्रधानमन्त्रीसँग सांसदले प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यक्रम राखिएको छ, जसमा सांसद्ले केही दिनअघि नै लिखित प्रश्न दिएका हुन्छन् र त्यसको उत्तर पनि प्रधानमन्त्रीले लिखित रूपमै ल्याएर वाचन गर्ने परम्परा छ । तर, आजको प्रश्नोत्तरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले सोधेको प्रश्न नै मन नपरेको भन्दै प्रश्नको उत्तर नै दिनुभएन । प्रतिपक्षी दलका सांसदहरूको प्रश्नमा त प्रधानमन्त्री ओली व्यंग्यात्मक मात्र होइन, आक्रामक शैलीमा नै प्रस्तुत हुनुभयो ।
प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार १० सांसदले प्रश्न गरेका थिए । सुरूदेखि नै प्रतिपक्षी दलका सांसदका सवालको जवाफ दिन व्यंग्यात्मक शैली प्रयोग गर्नुभएका प्रधानमन्त्री ओलीले आमजनता पार्टीका सांसद प्रभु साहको प्रश्नको त उत्तरै दिनुभएन । साहले नागरिकता त्यागेका नेपाली नागरिकको संख्या, उनीहरूको पैतृक सम्पत्तिको अवस्था, रेमिट्यान्समा आएको कमी, अर्थतन्त्र लगायतका विषय समेटेर प्रश्न गर्नुभएको थियो ।
तर प्रधानमन्त्री ओली आफ्नो अपमान भएको भन्दै आक्रोशित मात्रै हुनुभएन, उल्टै प्रतिप्रश्न गर्दै जवाफ दिनै अस्वीकार गर्नुभयो ।
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका सांसद वर्षमान पुनले अर्थतन्त्रदेखि अध्यादेशसम्मका विषय समेटेर प्रश्न गर्नुभएको थियो । तर प्रधानमन्त्री ओलीले आक्रोशित हुँदै माओवादी केन्द्रले सरकारको नेतृत्व गर्दा संसद् चल्नु ४ दिनअघि अध्यादेश ल्याएको होइन ? भनेर प्रतिप्रश्न गर्नुभयो । त्यसैगरी, अर्थतन्त्र सुधारमा सरकारको तयारीबारे सोध्नुभएको पुनको प्रश्नमा प्रधानमन्त्री ओलीले 'असारमा धान नरोपी मंसीरमा फल्दैन' भन्दै व्यंग गर्नुभयो ।
प्रश्नको उत्तर प्रश्न नै नहुनुपर्ने हो । प्रश्न गर्नुको ध्येय सरकारको उत्तर आओस् भन्ने हो । तर एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालालाई पनि ओलीले प्रतिप्रश्न नै गर्नुभयो । सांसद ज्वालाले विकास निर्माणदेखि सहकारीपीडित र किसानले भुक्तानी नपाएकोसम्मका प्रश्न गर्नुभएको थियो । प्रधानमन्त्रीले यसअघिको सरकारमा ज्वाला आफैं भौतिकमन्त्री रहेको स्मरण गराउदै आफैंले प्रगति रोकेको भन्दै व्यंग्य गर्नुभयो ।
नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले भ्रष्टाचारी र मानवअधिकार उल्लङ्घन गर्नेलाई मृत्युदण्डको सजाय दिने विषय र समाजवाद कार्यान्वयनमा सरकारले के काम गर्दैछ भनेर सोधेको प्रश्नमा भने ओलीले धेरै समय खर्चनुभयो । सरकारको काम र प्रगतिका बारेमा प्रश्न गर्नुपर्ने मञ्चमा सत्तारुढ नेपाली कांग्रेसका सांसद प्रकाशशरण महतले भने प्रधानमन्त्रीलाई आफ्नो दलसँगको सहकार्य कस्तो भइरहेको छ भनेर प्रश्न गर्नुभयो । जवाफमा ओलीले स्थिरताका लागि अघि बढ्ने सवालमा गठबन्धनमा कुनै शंका गर्नु नपर्ने विश्वास व्यक्त गर्नुभयो ।
सांसदहरूले प्रधानमन्त्रीलाई अर्थतन्त्र सुधार, भौतिक पूर्वाधार निर्माण, खानेपानी, शिक्षा, वातावरण प्रदूषण लगायतका विषयमा सरकारको प्रयास र उपलब्धिबारे प्रश्न गरेका थिए ।
यता प्रधानमन्त्री ओलीले पूर्वनिर्धारित प्रश्नको उत्तर नदिएको विषयलाई विपक्षी सांसदहरूले संसद्कै अवमूल्यन भएको दाबी गरेका छन् । प्रश्नकर्ता सांसद प्रभु साहले प्रधानमन्त्री ओली प्रश्नबाट भागेको र कानुनी शासनको उपहास गरेको आरोप लगाउनुभयो । यस्तै माओवादी केन्द्र र रास्वपाका सांसदहरूले पनि प्रधानमन्त्रीले जनसरोकारका प्रश्न सुन्नै नचाहेको दाबी गरे ।
सत्ता पक्षका सांसदले भने प्रधानमन्त्रीमाथि सदनमा अमर्यादित र पूर्वाग्रही प्रश्न सोधिएको भन्दै बचाउ गरे । विपक्षी दलका सांसहरूले भने प्रधानमन्त्रीले प्रश्न गर्दा होच्याउने प्रवृत्ति देखाएको र त्यसमा नियमापत्ति गर्न खोज्दा सभामुखले समेत समय नदिएको दाबी गरे ।