काठमाडौं । कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले आफ्नो गल्ती स्वीकार गर्दै जस्तोसुकै सजायको भागिदार बन्न तयार रहेको बताएको छ । आज विश्वविद्यालय प्रशासनले जुम मिट मार्फत नेपाली विद्यार्थीका अभिभावकहरूसँग संवाद गर्दै आफ्नो गल्ती स्वीकारेको हो ।
“हामी पुनः दोहोर्याउन चाहन्छौं कि यो गलत भयो । हामीलाई जे सजाय दिनुहुन्छ स्वीकार्छौं”, केआईआईटीका एक प्रतिनिधिले नेपाली अभिभावकसँग जुम मिटमा बताउनुभयो ।
यसअघि परराष्ट्रमन्त्री आरजु राणाले भारतको ओडिसाका उच्चशिक्षामन्त्री सूर्यवंशी सुरजसँग संवाद गर्दै घटनाबारे निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाही गर्न आग्रह गर्नुभएको थियो । जवाफमा मन्त्री सुरजले घटनालाई ओडिसा राज्यले गम्भीर रूपमा लिएको र उच्चस्तरीय छानबिन समिति समेत गठन गरेको बताउनुभयो ।
केआईआईटी विश्वविद्यालयमा पुगेको नेपाली टोलीसँगको भेटमा ओडिसाका मुख्यमन्त्री मोहनचरण माझीले पनि घटनाको गम्भीर अनुसन्धान र न्याय सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । नेपाली अधिकारीहरू सञ्जीवदास शर्मा र नवीनराज अधिकारीसँगको कुराकानीमा मुख्यमन्त्री माझीले शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति हुने वचन दिनुभएको थियो ।
आज नेपाली टोलीले ओडिसा सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिका प्रतिनिधिसँग समेत भेट गरेको थियो । नेपालका लागि भारतीय राजदूत शंकर शर्माले पनि विश्वविद्यालयले विद्यार्थीको सुरक्षा र घटनाको निष्पक्ष अनुसन्धानमा सघाउने प्रतिबद्धता जनाएको बताउनुभएको छ ।
मृतक लम्सालको शव आज बिहान ७ बजे ओडिसाबाट निकालिएको थियो । शव गोरखपुर हुँदै रूपन्देही ल्याइँदैछ । शवलाई भारतीय प्रहरीले सुनौली नाकासम्म पुर्याउने र त्यहाँबाट परिवारका सदस्य सहित नेपाली पक्षले घर ल्याउने तय भएको हो ।