काठमाडौं । २००७ चैत ७ गते १०४ वर्ष लामो निरङ्कुश जहानियाँ राणा शासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापना भएको थियो । त्यही दिनलाई प्रजातन्त्र दिवसका रूपमा मनाउँदै आइएको छ ।
७५ औं प्रजातन्त्र दिवस मनाउने समयसम्म आउँदा देशमा विभिन्न राजनीतिक परिवर्तनहरू भए । मुलुक राजतन्त्रामक व्यवस्थाबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्यो । यो अवधिमा अर्थव्यवस्थादेखि सेवा प्रवाह र सुशासनसम्मको स्थिति के रह्यो त ? इतिहासका विभिन्न कालखण्डमा लोकतन्त्र र नागरिक अधिकारका लागि आन्दोलनका मोर्चामा खटिएका राजनीतिकर्मीहरू के महसूस गरिरहेका छन् ?
विसं १९८३ सालमा जन्मिनुभएका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना हुँदा २३ वर्षको हुनुहुन्थ्यो । उमेरले ९८ वर्ष पुग्नु भएका उहाँ आफैं पनि ००७ सालको क्रान्तिमा होमिनु भएको थियो । तर क्रान्तिको ७५ वर्ष पुगिसक्दा उहाँ पनि प्रजातन्त्रको महसूस गर्न सकिराख्नु भएको छैन । ००७ सालको क्रान्तिले विद्या आर्जन गर्ने बाटो खुल्यो, नागरिक चेतना अभिवृद्धि भयो । तर अहिलेसम्म आइपुग्दा प्रजातन्त्रको प्रत्याभूत नागरिकले गर्न नपाएको उहाँ बताउनुहुन्छ ।
००७ सालको क्रान्ति नजिकबाट बुझ्नुभएका अर्का व्यक्ति हुनुहुन्छ कमल कोइराला । बुबा मातृकाप्रसाद कोइराला र काका बीपी कोइरालाले क्रान्तिको नेतृत्व गर्दा मात्र उहाँ १२ वर्षको हुनुहुन्थ्यो । तत्कालीन राजा त्रिभुवनले ००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापनाको घोषणा गर्दा कमल कोइराला नारायणहिटीभित्रै हुनुहुन्थ्यो । तर उहाँ पनि भन्नुहुन्छ, ठूला ठूला आन्दोलन र राजनीतिक परिवर्तन भए जनताले प्रजातन्त्रको अनुभूत गर्न भने पाएनन् ।
००७ सालको आर्थिक सामाजिक परिवेश र मानव चेतनालाई अहिले ०८१ सालमा तुलना गर्दा आकास जमिनको फरक पाउन सकिन्छ र यसैलाई धेरैले प्रगतिको मानक पनि मान्न सक्छन् । तर यदि ००७ सालमा आन्दोलनमा होमिने पुस्ताले प्रजातन्त्र महसूस गर्न सकेको छैन भने कमजोरी पक्कै पनि कहीं न कहीं छ र नेपाली जनताले प्रजातन्त्र महसूस गर्न सकेका छैनन् ।
००७ सालमा प्रजातन्त्र स्थापनाको एक वर्षपछि २००८ सालबाट औपचारिक रूपमा बजेट ल्याउन थालियो । तत्कालीन अर्थमन्त्री सुवर्णशमशेर राणाले ५ करोड २५ लाख २९ हजार रुपैयाँको बजेट ल्याउनुभएको थियो । २०१३ सालदेखि सुरू भएको पञ्चवर्षीय योजनाको बजेट १७ करोडको थियो भने अहिले वार्षिक बजेट नै १९ खर्ब पुगेको छ ।
यसले अर्थतन्त्रको क्षेत्र फराकिलो भएको छ भने सूचना प्रविधिका क्षेत्रमा आएको परिवर्तनलाई नेपालले पनि आत्मसाथ गरिरहेको छ । सात सालमा भएको २ प्रतिशत साक्षरता दर अहिले ७८ प्रतिशत पुगेको छ । औसत आयु २७ वर्षबाट बढेर ७१ पुगेको छ । तर राजनीतिक परिवर्तन र नागरिक अधिकारको आन्दोलनमा रहेका राजनीतिककर्मीहरू शिक्षा, स्वास्थ्य, रोजगारीका लागि अहिले पनि नागरिक भौंतारिइरहनु परेकाले जनताले प्रजातन्त्रको प्रत्याभूत गर्न नपाएको स्वीकार्छन् ।
राजनीतिक परिवर्तन भए पनि शासकको मनोविज्ञान परिवर्तन नभएका कारण नागरिकले प्रजातन्त्रको महसूस गर्न नसकेको राजनीतिकर्मीहरू नै बताउँछन् ।
००७ यता ०४६ र ०६३ मा भएका आन्दोलनले नेपालको शासकीय प्रणाली नै परिवर्तन गर्यो । तर परिवर्तनका खातिर अग्रमोर्चामा खटिएका नागरिकले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको महसूस गरेका छैनन् । यो झन्डै ८ दशकको अवधिमा स्वास्थ्य, शिक्षा तथा विकास जस्ता आधारभूत आवश्यकतामा केही सुधार त भए, तर भ्रष्टाचार, राज्यको जवाफदेहिताको कमी, अभिव्यक्ति स्वतन्त्रतामाथि बेला-बेला हुने हस्तक्षेप जस्ता कुराले प्रजातन्त्रको मूल मर्ममाथि नै प्रहार हुने गरेको छ ।
देशमा गरिबी बढ्दै जानु, परनिर्भरता बढ्दै जानु, कानुनी शासनको स्थापना नहुनु लगायत विविध कारणले सात सालको आन्दोलनको पहिलो पुस्ताले जे महसूस गरिरहेको छ अहिलेका आम नेपालीको मनस्थिति पनि यस्तै छ ।