धादिङ । स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकनमा धादिङको नेत्रावती डवजोङ गाउँपालिका बागमती प्रदेशकै पहिलो बनेको छ । स्थानीय सरकारको कार्यसम्पादन गर्न प्रयोग गरिएको सूचकको आधारमा नेत्रावती डवजोङ गाउँपालिका बागमती प्रदेशकै उत्कृष्ट पालिका बनेको हो ।
१७ वटा सूचकको आधारमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको गरेको मूल्यांकनमा नेत्रावती डवजोङ गाउँपालिकाले ७८.२ नम्बर ल्याई प्रदेशकै पहिलो भएको बताइएको छ । यसअघि नेत्रावती डवजोङ गाउँपालिकाले बेरुजुमा कम गर्ने पालिकामा पनि अग्रस्थान हासिल गर्न सफल भएको थियो ।
अघिल्लो वर्ष देशभरिका पालिकामध्ये छैटौं स्थान हासिल गरेको नेत्रावती डवजोङ गाउँपालिकाले यो पटकको मूल्यांकनमा देशभरमा तेस्रो स्थान हासिल गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेराम शाहले बताउनुभयो । यसले गाउँपालिकाभित्र विकास निर्माणको काम गर्न जनप्रतिनिधिलाई र नागरिकलाई पनि प्रेरित गरेको उहाँले बताउनुभयो ।
मूल्यांकन गर्दा गाउँ कार्यपालिका र नगर कार्यपालिका २०८१ असार १० गतेभित्र आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभा/नगर सभामा पेश गरे/नगरेको, गाउँ कार्यपालिका/नगर कार्यपालिकाको आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभाबाट २०८१ असार मसान्तभित्र पारित गरे/नगरेको, घर जग्गा रजिस्ट्रेशन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर बापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक रूपमा प्रदेश सञ्चित कोषमा जम्मा गरे/नगरेको, आगामी आर्थिक वर्षको आय व्यय प्रक्षेपण गरिएको तथ्याङ्क सहितको विवरण पुस मसान्तभित्र पेश गरे/नगरेको, बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी तत् सम्बन्धी विवरण कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको लगायत १७ वटा सूचकको आधारमा मूल्यांकन हुने गरेको छ ।
गाउँपालिकाले समयमा सम्पादन गर्नुपर्ने कार्य सम्पादनदेखि विकास निर्माण र सुशासनमा सबै कर्मचारी र जनप्रतिनिधि एक हुँदा निर्धारित समयमा कार्यसम्पादन सम्भव छ भन्ने देखाएको गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले बताउनुभयो । स्थानीय तहको हरेक वर्ष हुने यो मूल्यांकनले स्थानीय तहको बीचमा कार्य सम्पादनमा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।