काठमाडौं । ग्यास सिलिण्डर विस्फोटका घटना दोहोरिन थालेपछि प्रयोगकर्तामा चासो र चिन्ता बढेको छ- के ग्यास सिलिण्डर असुरक्षित हुन्छ ? कस्तो अवस्थामा यो पड्कन्छ ? बिहीबार कमलपोखरीमा भएजस्तो पड्कने घटना न्यूनीकरण गर्न के गर्नुपर्ला ?
ग्यास सिलिण्डर बिस्फोटका घटना बढ्न थालेपछि उपभोक्तामा सचेतना बढाउन ग्यास उद्योगी र सरकारबीच २०७० सालमा सम्झौता भएको थियो । तर, सम्झौता मात्र भयो, सचेतना बढाउन कुनै कार्यक्रम अघि बढेन ।
उद्योगीले सिलिण्डरको समय-समयमा परीक्षण गर्ने गरेको दाबी गर्दै आएका छन् । तर, सिलिण्डरसँगै प्रयोग हुने चुहृलो, रेगुलेटर र पाईप जस्ता वस्तुको मापदण्ड बनाएर लागू गर्न सकेको छैन । उपभोक्ताले सस्तो भन्दै प्लास्टिकको पाईपको प्रयोग गरेका कारण पनि दुर्घटना निम्तने गरेको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाको भनाइ छ ।
ग्यास उद्योगदेखि उपभोक्ताको भान्छा अनुगमन र नियमन गर्ने स्पष्ट अधिकार कुनै पनि सरकारी निकायलाई छैन । नेपाल आयल निगमले ग्यास उद्योगको मापदण्ड हेर्ने गरेको छ भने गुणस्तर विभागले ग्यास उद्योग, सिलिण्डर, भल्ब र रेगुलेटरमा गुणस्तर चिन्ह दिने काममात्रै गर्छ ।
प्रयोगमा सचेना बढाउन नसक्दा र उद्योग र ग्यास चुहृलोलाई आवश्यक पर्ने वस्तुको नियमन गर्न नसक्दा यस्ता दुर्घटना दोहोरिइरहेका छन् । ग्यास सिलिन्डर विस्फोटका घटना न्यूनीकरण गर्न जनचेतना बढाउनुका साथै ग्यास उद्योग, सिलिण्डर, पाईप, रेगुलेटर र चुहृलोको स्पष्ट मापदण्ड बनाएर कडाईका साथ लागू गर्न जरुरी छ ।