ताप्लेजुङ । ताप्लेजुङको पाथीभरामा ‘नो केबलकार समूह’ र प्रहरीबीच भएको झडप र त्यसपछिको बन्दका क्रममा पक्राउ परेकाहरू रिहा भएका छन् । ताप्लेजुङका तीन, झापाको दमकका आठ र सुनसरीका ६ जना रिहा भएको किरात याक्थुम चुम्लुङ ताप्लेजुङका सचिव सरोज कङलिवाले बताउनुभयो ।
ताप्लेजुङका प्रदीप मादेनलाई १० हजार र लक्ष्मण लिम्बू र चन्द्रसागर लिम्बूलाई ५-५ हजार धरौटीमा छोडिएको छ । झापा र सुनसरीका भने बिनासर्त रिहा भएको कङलिवाले बताउनुभयो ।
गत माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडामा भएको झडपका क्रममा दुई जना र बन्द गराउने क्रममा अन्य पक्राउ परेका थिए । सरकारी वार्ता टोली र आन्दोलनरत समूहबीच भएको सहमति अनुसार उनीहरूलाई छोडिएको प्रहरीले जनाएको छ ।