बेलायतका अधिराजकुमार एड्वर्ड नेपाल भ्रमणमा

माघ २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
बेलायतका अधिराजकुमार एड्वर्ड नेपाल भ्रमणमा

काठमाडौं । बेलायतका अधिराजकुमार एड्वर्ड र उहाँकी पत्नी राजकुमारी सोफी (एडिनब्राका ड्यूक र डचेस) नेपाल भ्रमणमा आउनुभएको छ ।

भ्रमणअवधिभर अधिराजकुमार र राजकुमारीले नेपालको सबैभन्दा पुरानो द्विपक्षीय सम्बन्धका रुपमा रहेको बेलायत–नेपाल साझेदारीलाई प्रतिनिधित्व गर्ने विभिन्न व्यक्तित्वहरूलाई भेट्ने कार्यक्रम रहेको छ ।

बेलायत–नेपाल मैत्री सन्धिको गत वर्ष मनाइएको शतवार्षिकोत्सव पछि उहाँहरूले अर्को १०० वर्षको मित्रता कसरी विकसित हुँदैछ भनेर बुझ्नुका साथै ड्युक अफ एडिनब्रा इन्टरनेसनल अवार्डले युवाहरूलाई नयाँ सीप र अनुभवहरू विकास गर्न कसरी मद्दत गरिरहेको छ भनेर हेर्ने तालिका रहेको नेपालका लागि बेलायती राजदूतावासले जनाएको छ । भ्रमणका क्रममा उहाँहरूले २०० वर्ष भन्दा लामो गोर्खा साझेदारीका केही महत्वपूर्ण अंशहरूको अवलोकन गर्ने कार्यक्रम समेत रहेको छ ।

उहाँहरूले ड्यूक अफ एडिनब्रा अन्तर्राष्ट्रिय पुरस्कारबाट लाभान्वित हुने युवाहरूलाई भेट्ने, बेलायतबाट प्राप्त सहायताले नेपालको मातृस्वास्थ्य सेवामा सुधार ल्याउन कसरी मद्दत गरिरहेको छ भनेर हेर्ने र महिला नेतृ तथा अभियन्ताहरूसँग अन्तर्क्रिया गर्ने कार्यक्रम  छ ।

अधिराजकुमार र राजकुमारीले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्दै भ्रमणको सुरुवात गर्नुभएको छ । आज शितलनिवासमा भएको द्विपक्षीय बैठकले ऐतिहासिक बेलायत–नेपालसम्बन्धको न्यानोपन र सन्निकटताकासाथै सम्बन्धको आधारशिलाका रूपमा रहेको गोर्खाली सेनाको भूमिकाकालागि बेलायतमा रहेको ठूलो सम्मान माथि प्रकाश पारेको थियो ।

यो भ्रमण बेलायती शाही परिवारका सदस्यहरूबाट भएको १४औं नेपाल भ्रमण हो । महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपले सन् १९६१ र १९८६ मा, वेल्सका अधिराजकुमारका रूपमा राजा चार्ल्सले सन् १९७५, १९८०, १९९२ र १९९८ मा नेपालको भ्रमण गर्नु भएको थियो । सबैभन्दा पछिल्लो भ्रमण सन् २०१६ मा अधिराजकुमार ह्यारीबाट भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement