पाथीभरा केबलकार विवाद : पहिलो दिनको वार्ता निष्कर्षविहीन, मंगलबार पुनः छलफल हुने

माघ २१, २०८१ |आनन्द गौतम
पाथीभरा केबलकार विवाद : पहिलो दिनको वार्ता निष्कर्षविहीन, मंगलबार पुनः छलफल हुने

ताप्लेजुङ । पाथीभरा केबलकार स्थापनाका सम्बन्धमा विवाद समाधान गर्न सोमबार बसेको सरकारी वार्ता टोली र आन्दोलनरत पक्षबीचको पहिलो दिनको वार्ता निष्कर्षविहीन भएको छ । मंगलबार पुनः बैठक बस्नेगरी आज वार्ता स्थगित भएको दुवै पक्षले जनाएका छन् ।

संघीय सरकारका प्रतिनिधि र आन्दोलनरत समूहबीच आज ललितपुरको होटल हिमालयमा छलफल भएको थियो । पहिलो चरणमा आन्दोलनका क्रममा पक्राउ परेका प्रदीप मादेन सहित तीन जनाको रिहाइ, केबलकार निर्माण कार्य स्थगन र आन्दोलनरत समूहले आह्वान गरेको बन्द फिर्ताका विषयमा छलफल भएको थियो ।

सरकारका तर्फबाट गृह मन्त्रालद्वारा गठित वार्ता टोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले वार्ता सकारात्मक भएको र मंगलबार फेरि बस्ने बताउनुभयो । “उहाँहरूले पक्राउ परेका कार्यकर्ता रिहाइ, केबलकार निर्माणको काम स्थगित, काफ्लेपाटीबाट सुरक्षाकर्मी फिर्ताको विषय उठाउनुभयो”, सरकारी वार्ता टोलीका संयोजक भट्टराईले भन्नुभयो, “हामी रिहाइका लागि सकारात्मक भयौं, हाल निर्माण भइरहेको स्थानको काम नरोक्ने तर त्योभन्दा माथिको काम नगर्ने भन्यौं, उहाँहरूले त्यसमा सहमति जनाउनु भएन र मंगलबार फेरि बस्ने गरी स्थगित गरेका छौं ।”

आन्दोलनरत समूहका अगुवा नवीन पोमुले सरकार बन्दी रिहा गर्न तयार भएको तर काम रोक्ने विषयमा सहमति नजनाएपछि वार्ता सफल नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो आन्दोलन अब अझ कडा भएर जान्छ, त्यसको जिम्मेवार सरकार नै हुनुपर्छ ।”

मंगलबारदेखि आम हड्तालको कार्यक्रम रहेको पोमुले बताउनुभयो । मंगलबारदेखि कोशी प्रदेशको अरुणपूर्वका नौ जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा र तेह्रथुममा आम हड्तालको घोषणा गरेका छन् ।


Image

आनन्द गौतम

गौतम कान्तिपुर टेलिभिजनका ताप्लेजुङ संवाददाता हुन् ।