ग्लोबल टेन्ड्रिङमा नेपाली एप, कुन एप सबै भन्दा चर्चित ?

माघ १९, २०८१ |भरत रावल
ग्लोबल टेन्ड्रिङमा नेपाली एप, कुन एप सबै भन्दा चर्चित ?

काठमाडौं । कुनै पनि कम्प्युटर तथा मोबाईल एप्लिकेसनले कामलाई सरल, छिटो र छरितो बनाउँछ । पछिल्लो समय यस्ता एप्लिकेसनको प्रयोग बढेको छ । विश्वमा यस्ता करोडौं एप्लिकेसन छन् । नेपाली आफैंले बनाएका पनि २ हजारभन्दा बढी एप्लिकेसन छन् । नेपालमा बनाइएका कस्ता एप्लिकेसन सबैभन्दा बढी चलेका छन् त ? 

फेसबुक, म्यासेन्जर , टिकटक, भाईबर जस्ता एप्लिकेसन नेपालमा मात्रै होइन विश्वभर नै बढी प्रयोग हुने एप हुन् । यी मात्र होइन, नेपालमै बनाइएका केही एप बढी प्रयोग हुने र चर्चितमा परेका छन् । नेपालमै बनाइएको लुडो निओ क्लासिक एप हालसम्म सबैभन्दा बढी डाउनलोड भएको एप्लिकेसन हो । जुन विश्वभर २ करोड ८० लाखभन्दा बढी डाउनलोड भएको छ । सूचना प्रविधि क्षेत्रका जानकारले यसलाई ग्लोबल एपको रुपमा लिने गरेका छन् ।

तिथि-मिति हेर्न मिल्ने, रेडियो सुन्न र समाचार पढ्न सकिने 'नेपाली क्यालेन्डर' नेपालमा दोस्रो बढी डाउनलोड भएको अर्को एप्लिकेसन हो । जुन २ करोडभन्दा बढी लडाउनलोड भएको छ । त्यस्तै 'नेपाली की बोर्ड' १ करोड ७० लाख डाउलोड भएको छ । यसैगरी नेपालको चर्चित डिजिटल मोबाईल वालेट इ-सेवा १ करोड २० लाख डाउनलोड भएको छ । नेपालमै बनाइएका ५ सयभन्दा बढी एप्लिकेसन धेरै डाउनलोड हुने गरे पनि २ सय भन्दाबढीले त आम्दानी पनि राम्रै गरिरहेका छन् ।

गुगलबाट आउने विज्ञापनबाट एपको विकास गर्नेले राम्रो रकम पाउँछन् । खेलकुदसँग सम्बन्धित एपमा मानिसहरुले बढी समय बिताउने गरेकाले अझ बढी आम्दानी हुने गरेको जानकार बताउँछन् । पछिल्लो समय नेपाल सरकारले सबै कागजात राख्न मिल्ने र ६४ वटा सेवा लिनसकिने गरी विकास गरेको 'नागरिक एप' पनि डाउनलोडको ट्रेडिङमा छ । 


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement