बीपी राजमार्गको कामचलाउ बाटोमा हिलो र धुलोको सास्ती

साविकै बाटो मर्मत गरी चलाए फेरि समस्या हुने : स्थानीय सरकार
माघ १९, २०८१ |पुजन धिताल
बीपी राजमार्गको कामचलाउ बाटोमा हिलो र धुलोको सास्ती

काभ्रे । देशको पूर्वी क्षेत्रलाई काठमाडौंसँग जोड्ने लाइफलाइन हो- बीपी राजमार्ग । यो राजमार्गको ९ किलोमिटर खण्ड काभ्रेको रोशी गाउँपालिकाभित्र पर्छ । राजमार्गको चौकीडाँडादेखि बीपी राजमार्ग रोशी खोलाको आडैआड अघि बढ्छ । तर असोज दोस्रो साताको बाढीपहिरोले क्षतविक्षत पारेपछि हाललाई साविककै सडकमा त कतै फरक ठाउँबाट डाइभर्सन गरी कामचलाउ बाटो बनाइएको छ ।

असोज दोस्रो साताको बाढीपहिरोले बीपी राजमार्गको काभ्रे खण्डमा ठूलो क्षति पुग्यो । सबैभन्दा धेरै रोशी गाउँपालिका क्षेत्रमा सडक र त्यसँगैका बस्ती नामोनिशान नभेटिने गरी बगे । राजमार्गको नजिकै जोखिम क्षेत्रमै बस्न बाध्य नागरिक, यात्रु तथा चालक सबैको एउटै गुनासो छ सडक बगेको ठाउँमा बनाइएको अस्थायी डाइभर्सनमा हिलो धुलोको सास्ती त छँदैछ साना गाडीले जताततै भुइँ छुन्छ ।

रोशी गाउँपालिका क्षेत्रमा मात्रै करिब ९ किलोमिटर सडक पुनःनिर्माण गर्नु पर्नेछ । बीपी राजमार्ग जापान सहयोग नियोग जाइकाले बनाइदिएका कारण सरकार फेरि उही दाताको बाटो हेरिरहेको छ । सडक विभागले सर्भेको काम त अघि बढाएको छ तर स्रोत सुनिश्चितता खोजिरहेको छ । रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा भने राजमार्गको केही ठाउँमा ट्रयाक नै परिवर्तन गरेर लैजान सके दीर्घकालीनरूपले सुरक्षित हुने बताउनुहुन्छ ।

बीपी राजमार्ग पुनःनिर्माणमा राज्यले तत्काल स्रोत सुनिश्चित गर्न आवश्यक देखिएको छ । राजमार्ग निर्माण गर्दा नागरिकसँगै स्थानीय सरकारको समेत राय लिएर प्राकृतिक विपद् थेग्ने गरी बनाउन समेत जरुरी छ । २ वर्षमा सडक पुनःनिर्माण गरिसक्ने दाबी गरेको सरकारले आफ्नो सुझाव राम्रोसँग मनन गरी प्राविधिक अध्ययन गरोस् भन्ने स्थानीयको अपेक्षालाई सम्बोधन गर्नैपर्छ ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement