बाँके । जबरजस्ती करणी, कुटपिट र लुटपाटमा परेकी नेपालगन्ज-२ घरबारी टोलकी एक महिलाको उजुरी घटनाको १३ दिनपछि प्रहरीले दर्ता गरेको छ। पीडितलाई न्याय दिन र संलग्नलाई नियन्त्रण लिन आलटाल गर्दै आएको बाँके प्रहरीले चौतर्फी दबाब र माथिल्ला प्रहरी अधिकारीको निर्देशनपछि बल्ल उजुरी लिएको हो ।
जबरजस्ती करणी, कुटपिट र लुटपाटपछि विक्षिप्त बनेकी नेपालगन्ज-२ घरबारी टोलकी ३५ वर्षिया महिला बाँके प्रहरी प्रशासनबाट न्याय र सुरक्षा पाउन नसकेको भन्दै राष्ट्रिय मानव अधिकार आयोग बााकेका प्रमुखसमक्ष बिलौना सुनाउँदै थिइन । आफूमाथिको अन्याय सुन्ने कोही नभेटिएपछि पीडित आयोग गुहार्न पुगेकी हुन् ।
जबरजस्ती करणीमा संलग्न आरोपीलाई जिल्ला प्रहरी कार्यालय बााकेले १३ दिन बितिसक्दा समेत पक्राउ गरेको छैन । पीडित महिला राति घरमा बस्दा असुरक्षा हुनसक्ने देखेर आफन्तकोमा बस्दैआएकी छन् । पीडकले बारम्बार फोनमार्फत् धम्की दिँदै आएको आफन्त बताउँछन् ।
माघ ६ गते राति घरभित्रै जबरजस्ती करणीमा परेपछि पीडित महिला प्रहरीमा जाहेरी दिन धाइरहेकी थिइन् । जतिसुकै हारगुहार गर्दा पनि प्रहरीले चासो दिएको थिएन । तर लुम्बिनी प्रदेश प्रहरी प्रमुखसँगै स्वयम गृहमन्त्रीले नै संलग्नलाई घटनाबारे अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिनुपर्यो । यो लापरवाहीले फौजदारी न्याय प्रणालीमाथि नै चुनौती खडा भएको कानून व्यवसायी बताउँछन् ।
राष्टिय मानव अधिकार आयोगले पनि घटनालाई मानव अधिकारको गम्भीर उल्लघनका रुपमा लिएको छ । सुरक्षा दिने प्रहरीबाट भएको व्यवहारले सुशासन संकटमा पर्न थालेकोमा समेत आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।
यता जिल्ला प्रहरी कार्यालय बाँकेले घटनाको प्रारम्भिक अनुसन्धान पूरा गरी जिल्ला अदालतबाट अभियुक्तविरुद्ध पक्राउपुर्जीको आदेश लिने काम भइरहेको जनाएको छ ।