काठमाडौं । अवैध आप्रवासी फिर्ता पठाउने अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प प्रशासनको नीतिले नेपाली पनि प्रभावित भइरहेका छन् । विशेष गरी अवैध बाटोबाट अमेरिका प्रवेश गरेकाहरू मुद्दामा पराजित भए लगत्तै निष्कासनमा परिरहेका छन् । मानव तस्करको प्रलोभनमा परेर पुगेका नेपालीलाई पनि अमेरिकाले पक्राउ गरेरै फिर्ता गरिरहेको छ ।
बुधबार बिहान करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक अमेरिकी जहाज अवतरण गर्यो । यो जहाज व्यावसायिक यात्रु लिएर होइन, अमेरिकाबाट निकालिएका ८ नेपालीलाई लिएर आएको हो । अवैध रूटबाट अमेरिका प्रवेश गरेका १ महिला र ७ पुरुष सहित ८ जनालाई अदालतबाट मुद्दा हारेपछि विमान नै चाटर्ड गरेर ल्याइएको हो । ८ बाहेक डिपोर्टमै परेकी एक महिला भने व्यावसायिक उडानबाट आएकी हुन् ।
अमेरिकाबाट डिपोर्ट भएका थप केही व्यक्ति पनि आउन सक्ने स्रोतको दाबी छ । बुधबार फिर्ता गरिएका ९ जनामा डोटी, रुकुम पश्चिम र रुकुम पूर्व, दाङ र रोल्पाका हुन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले फिर्ता गरिएका नेपालीमाथि थप अनुसन्धान गर्न प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोको जिम्मा लगाएको थियो । ब्युरोले ९ जनासँगै सामान्य सोधपुछपछि परिवार र आफन्तको जिम्मा लगाइसकेको छ । नेपाल फर्काइएकाहरूले ५० देखि ८० लाख रुपैयाँसम्म बुझाएर विभिन्न १३ देशको रूट पारेर चार महिना लगाउँदै प्रवेश गरेको र सिमानामै पक्राउ परेको बयान दिएका छन् ।
उनीहरू ५ देखि ९ महिनासम्म जेल बसेर सीधै फिर्ता गरिएका हुन् । प्रहरीले अवैध रूटबाट अमेरिका पठाउने गिरोहको सञ्जाल खोज्न पनि फिर्ता गरिएकाहरूले अनुसन्धानमा सहयोग गर्नुपर्ने बताएको छ ।
त्यसो त अवैधरूपमा अमेरिका बस्दै आएका नेपाली फिर्ता गरिएको यो पहिलो पटक होइन । पाँच वर्षमा २६२ जना फिर्ता गरिएको तथ्यांक प्रहरीसँग छ । तीमध्ये १० महिला र २५२ जना पुरुष छन् । गता साउन यता मात्रै ६३ जना नेपाली अमेरिकाबाट फिर्ता भएका छन् । राष्ट्रपति ट्रम्पले कार्यभार सम्हालेयता भने ३५ जना डिपोर्टमा परेका हुन् ।
नेपालीलाई गिरोहले भारत अथवा दुबईसम्म लैजाने र त्यहाँबाट एजेन्ट मार्फत रूस, स्पेन, बोलिभिया, पेरु, इक्वेडर, कोलम्बियाबाट पानामा हुँदै अमेरिकासम्म पुर्याइने गरेको खुलेको छ । अहिले अमेरिकाबाट निकालिएका कतिपयलाई पानामा लगेर छाडिएको छ । तिनै रूटबाट गएकाहरू अमेरिका छिर्न मेक्सिको समेत पुग्ने गरेका छन् । तर अमेरिकाले जुन रूटबाट आएको त्यही देशमा लगेर छाड्ने र मानव तस्करले पनि बेवास्ता गर्न थालेपछि कति नेपाली अलपत्र परेका छन् ।
अमेरिकाले देशको कानुन उल्लंघन गरेका आरोपीलाई फिर्ता गरिरहेको हो । फर्किएकाहरूले प्रहरी अनुसन्धानमा सहयोग गरे अवैध रूटबाट मानव तस्करीमा संलग्नहरूको सञ्जालसम्म पुगेर कारबाहीको दायरामा ल्याउन सकिने छ ।