कालीगण्डकीमा थुप्रियो गिटी-बालुवा, मुस्ताङ र म्याग्दीका बस्ती र खेतीयोग्य जमिन जोखिममा

माघ १५, २०८१ |घनश्याम खड्का
कालीगण्डकीमा थुप्रियो गिटी-बालुवा, मुस्ताङ र म्याग्दीका बस्ती र खेतीयोग्य जमिन जोखिममा

म्याग्दी । कालीगण्डकी नदीले बगाएर ल्याएको बालुवा-गिटी तटीय क्षेत्रमा थुप्रिँदै जाँदा मुस्ताङ र म्याग्दीका नदी आसपासका बजार र गाउँका साथै खेतीयोग्य जमिन जोखिममा परेका छन् । बालुवा र गिटीले बनेको हिमाली सुख्खा उपत्यका र पठार क्षेत्र रहेको मुस्ताङमा कालीगण्डकी नदीको बिचमा गिटी, वालुवा थुप्रिँदै गएपछि तटीय क्षेत्रका खेतीयोग्य जमिन र बस्ती संकटमा पर्न थालेका हुन् ।

कालीगण्डकी नदीको क्षेत्रफल वर्षेनि बढ्दै जाँदा खेतीयोग्य जमिन र मिलेका सस्ती संकटमा पर्न थालेका हुन् । तल्लो मुस्ताङको समथर र फराकिलो स्थानमा कालीगण्डकी नदीको गती घट्ने हुनाले गिटी-बालुवा बगाउन नसक्दा बर्षेनि थुप्रो लाग्दै गएको छ । मुस्ताङको थासाङ गाउँपालिका-४ का वडाध्यक्ष गौतम शेरचनले गिटीबालुवाको नाङ्गा पहाडबाट हिमाली ठाडो खोलाले अधिक मात्रामा 'डेब्रिज' बगाएर ल्याउनाले समस्या थपिँदै गएको बताउनु भयो ।

जलवायु परिवर्तनले उपल्लो मुस्ताङमा समेत वर्षा बढेको र बाढीले बालुवा तथा गेग्रान बढी मात्रामा बगाएर ल्याउन थालेको वडाध्यक्ष शेरचनले जनाउनु भयो ।

कालीगण्डकी नदी किनारामा अवस्थित थासाङ गाउँपालिकाको टुक्चे, कोवा, चिवा, सौरु र घरपझोङ गाउँपालिकाको मार्फा, स्याङ, जोमसोम, पुथासमेतका बस्ती र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागवेनी, छुक्छाङ क्षेत्रमा गेग्रान जम्मा भई सतहमाथि उठ्दा कालीगण्डकी नदीको पानी बस्ती पस्न थालेको स्थानीयले जनाएका छन् ।

यसैगरी, कालीगण्डकीको बहावका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको दाना, तातोपानी, पोखरेबगर रघुगंगा गाउँपालिकाको तिप्लयाङ, गलेश्वर र म्याग्दी सदरमुकाम बेनीमा समेत जोखिम बढेको छ । कालीगण्डकीमा गेग्रान थुप्रिएर पछिल्ला २०–२५ वर्षमा नदीको सतह ७ मिटरसम्म अग्लो भएको स्थानीयले बताएका छन् ।


Image

घनश्याम खड्का

खड्का म्याग्दीका कान्तिपुर टीभी संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement