पाथीभरा झडपबारे जिप्रकाको प्रष्टिकरण- आत्मरक्षाका लागि अन्तिम विकल्पको रूपमा हवाई फायर भएको हो

माघ १४, २०८१ |आनन्द गौतम
पाथीभरा झडपबारे जिप्रकाको प्रष्टिकरण- आत्मरक्षाका लागि अन्तिम विकल्पको रूपमा हवाई फायर भएको हो

ताप्लेजुङ । माघ १२ गते पाथीभरा क्षेत्रमा भएको झडपको विषयमा जिल्ला सुरक्षा समिति ताप्लेजुङले प्रष्टिकरण दिएको छ ।

जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जारी गरेको विज्ञप्तीमा सुरक्षाकर्मीद्वारा आत्मरक्षाका लागि अन्तिम विकल्पको रूपमा हवाई फायर गरिएको दाबी गरिएको छ । कानुन बमोजिम राष्ट्रसेवक कर्मचारीबाट कार्य सम्पादन गर्ने क्रममा सिर्जित अवरोध प्रति जिल्ला सुरक्षा समितिले घोर भत्र्सना गरेको पनि उल्लेख छ । आन्दोलनरत पक्षले भने सोमबार ग्लोबल आइएमई बैंक अगाडि धर्ना दिने जनाएका छन् ।

गत कार्तिक २३ गतेदेखि पाथीभरामा पुग्न केवलकार निर्माण कार्य पुनः सुरू भएपछि जिल्लाको शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा सुरक्षा चुनौती बढेकाले सोही परिस्थिति आँकलन गरी प्रहरी सुरक्षाकर्मी समन्वयात्मक रूपमा परिचालन गरी शान्ति सुरक्षा र अमयचयन कायम गर्दै आएको विज्ञप्तीमा उल्लेख छ । 

अघिल्ला दिनहरूझै १२ गतेपनि नियमित सुरक्षा गस्ति गर्ने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ति टोलिले शंकास्पद गतिविधि भएको आशंकामा सामान्य अनुगमन गर्दा सामान्य विवाद भएको दाबी गरिएको छ । २०८१ वैशाख ३१ गते रुख कटान भएपछि बलुडाँडा स्थित निशा राई र रमेश राईको गोठमा नो केवलकार समूह बस्दै आएका छन् । प्रहरीले घरेलु हतियार बामफोक, गुलेली र लठ्ठी नियन्त्रणमा लिने क्रममा विवाद भएको थियो ।

यो क्षेत्रलाई सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिने क्रममा संयुक्त गस्तिका कमाण्डर प्रहरी निरिक्षक सहितको टोलि माथी ढुङ्गा, चिर्पट, दाउरा, गुलेली प्रहार गरेपछि आत्मरक्षाको अन्तिम विकल्पको रूपमा हवाई फायर गर्ने अवस्था प्रदर्शनकारी समूहकै कारण सिर्जना भएको विज्ञप्तीमा दाबी गरिएको छ । उक्त घटनामा सुरक्षाकर्मी तर्फ २१ जना घाइते भएको र ७ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको उल्लेख छ । 

केही युट्युव सहितका अनलाईन र सञ्चार माध्यमले सत्यतथ्य बङ्ग्याएर नागरिकमा भ्रम सृजना हुनेगरी प्रकाशित समाचार प्रति ध्यानाकर्षण भएको र गम्भिरतापूर्वक लिएको उल्लेख छ । नागरिकको जीउ धन र नागरिक स्वतन्त्रताको संरक्षण गर्ने कार्यमा स्थानीय प्रशासन थप सजग, सतर्क र प्रतिबद्ध भएको विज्ञप्तीमा भनिएको छ ।

यता मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, केवलकार खारेजी संयुक्त संघर्ष समिति लगायतका पाँचवटा संस्थाले भने आज केवलकारका सञ्चालक चन्द्र ढकालले सञ्चालन गरेको आइएमई बैंक अगाडि धर्नादिने, माघ १५ गतेदेखि मेची राजमार्ग र तमोर करिडोरमा अनिश्चितकालिन यातायात बन्द गर्ने घोषणा गरेका छन् । उनीहरूले ताप्लेजुङ, पाँचथर, इलाम, तेह्थुम, धनकुटा, झापा, मोरङ, सुनसरी जिल्लामा सञ्चालित ग्लोबल आइएमई बैंक बन्द गर्नुपर्ने माग राखेका छन् ।

शनिवार ‘नो केबलकार समूह’ र प्रहरीबीच दुई पटक झडप भएको थियो । झडपका क्रममा गम्भीर घाइते तीन जनाको काठमाडौंमा उपचार भइरहेको छ । 


Image

आनन्द गौतम

गौतम कान्तिपुर टेलिभिजनका ताप्लेजुङ संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement