बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार गम्भीर घाइते

माघ १२, २०८१ |मनोज बडू
बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार गम्भीर घाइते

दार्चुला । बैतडीको सिगास गाउँपालिका–१ माडौमा यात्रुवाहक जीप दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । जीपमा सवार अन्य चार जना गम्भीर घाइते भएको बैतडी प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सिगासको माडौमा शनिबार बिहान ४ बजे सुदूरपश्चिम प्रदेश-०१–००१च ४०२८ नम्बरको जीप दुर्घटना हुँदा सिगास गाउँपालिका–१ कि १९ वर्षीया पार्वती धामी र १४ वर्षीया जयन्ती धामीको मृत्यु भएको छ । उनीहरूको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बैतडी प्रहरीका प्रवक्ता बलराम पाडेण्यले बताएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका सिगासकै ४० वर्षीय तुलसी धामी, १६ वर्षीया निरा धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया भागरथी धामीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । एक जनाले हाम फालेर ज्यान जोगाउन सफल भएको प्रहरी निरीक्षक समेत रहेका पाडेण्यले बताउनुभयो ।

जीप सडकबाट पाँच सय मिटर तल खसेको थियो । घाइतेको उद्धार र घटनाको विस्तृत अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउदको नेतृत्वमा २० जना प्रहरी घटनास्थलमा खटिएका छन् । प्रारम्भिक अनुसन्धानबाट जीप सहचालकले चलाएको खुलेको छ । जीपमा विवाहको भोज खाएर फिर्ता हुँदै गरेका निम्तालु रहेको प्रहरीले जनाएको छ ।


Image

मनोज बडू

बडू दार्चुलास्थित कान्तिपुर टीभीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement