वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणदेखि तालिमसम्म नक्कली प्रमाणपत्रको बिगबिगी

बायोमेट्रिक प्रणालीसँगै राष्ट्रिय परियचपत्र अनिवार्य गर्ने तयारी
माघ १०, २०८१ |सुमन पन्थ
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणदेखि तालिमसम्म नक्कली प्रमाणपत्रको बिगबिगी

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणदेखि पूर्वअभिमुखीकरण तालिमसम्ममा नक्कली प्रमाणपत्रको बिगबिगी भएपछि वैदेशिक रोजगार विभागले सबै सेवामा बायोमेट्रिक प्रणाली अनिवार्य गरेको छ । स्वास्थ्य परिक्षणको अनुमति पाएका संस्थाहरूको अनुगमनमा कडाइ गर्ने पहल गरिरहेको विभागले श्रमिकको सम्पूर्ण प्रक्रिया र विवरणलाई निगरानीमा राख्न राष्ट्रिय परिचयपत्रलाई पनि जोड्ने तयारी गरेको छ ।

गत असार ११ मा इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा ८ सय नेपाली श्रमिक लैजान वैदेशिक रोजगार विभागले विज्ञापन गर्‍यो । यसमा ४ हजारभन्दा धेरैले आवेदन दिएका थिए । तर आवेदन दिनेमध्ये १४२ जनाको प्रमाणपत्र नक्कली भेटियो । शैक्षिक प्रमाणपत्रदेखि, तालिम र भाषा परीक्षा पास गरेको प्रमाणपत्रसम्म नक्कली भेटिएपछि उनीहरूको आवेदन नै रद्द गरियो ।

इजरायल जाने श्रमिकलाई मात्र होइन, खाडी र मलेसिया जाने श्रमिकलाई पनि स्वास्थ्य परीक्षण नगरी श्रम स्वीकृतिका लागि नक्कली मेडिकल रिपोर्ट बनाइदिने गरेको सरकारी अध्ययन समितिले नै ठहर गरेको थियो । १५७ स्वास्थ्य संस्थाले श्रमिकको स्वास्थ्य परीक्षण गर्ने अनुमति पाए पनि ३० प्रतिशत स्वास्थ्य संस्थाको मापदण्ड नपुगेको प्रतिवेदनमा उल्लेख छ । तर श्रम मन्त्रालयले त्यस्ता संस्थालाई कारबाही गर्नु त कता हो कता सेवा सुधारमा समेत सचेत गराएको छैन । विज्ञहरूले नक्कली कागजातको बिगबिगी हुँदा गन्तव्य मुलुकमा हाम्रा संस्थाहरूको विश्वसनीयतामाथि नै प्रश्न उठ्ने भएकाले अनुगमनमा कडाइ गर्न सुझाएका छन् ।

पूर्वप्रस्थानको अभिमुखीकरण तालिमको प्रमाणपत्र समेत नक्कली पेश गरेर गन्तव्य देशमा पुगेका श्रमिक समस्यामा पर्ने गरेका छन् । यस्तो अवस्था नहोस् भनेर वैदेशिक रोजगार विभागले अभिमुखीकरण तालिम दिने सबै संस्थालाई बायोमेट्रिक अनिवार्य गरेको छ । असम्बन्धित व्यक्तिको चलखेल रोक्न वैदेशिक रोजगारीमा जानेहरूसँग राष्ट्रिय परिचयपत्र समेत अनिवार्य गरिँदैछ ।

वैदेशिक रोजगारीमा गएकाहरुमध्ये वार्षिक १४ सयभन्दा बढीको त मृत्यु नै हुने गरेको छ । त्यस्तै ६ सयभन्दा धेरै अंगभंग हुने गरेको तथ्यांक वैदेशिक रोजगार बोर्ड सचिवालयको छ । यसका पछाडि वैदेशिक रोजगारीमा जानुपूर्वको अभिमुखीकरण तालिम र स्वास्थ्य परीक्षण जस्ता विषय जोडिने गरेको छ ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement