काठमाडौं । विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिने शहीदहरूको सम्झनामा आजबाट शहीद सप्ताह सुरू भएको छ । टेकुस्थित पचलीमा रहेको शहीद शुक्रराज शास्त्रीको सालिकमा माल्यार्पण गर्दै शहीद सप्ताह सुरू भएको हो ।
सो अवसरमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले शहीद शास्त्रीको सालिकमा माला र पुष्पगुच्छा अर्पण गर्नुभयो । तत्कालीन राणा शासकले विक्रम संवत १९९७ माघ १० गते शास्त्रीलाई पचलीस्थित रुखमा झुन्डाएर मृत्युदण्ड दिएका थिए । यस्तै माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिएका थिए ।
सात दिन शहीद सप्ताह मनाएपछि माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ । कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले इतिहासको सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले देशका लागि योगदान गर्नेहरूको योगदानको कदर गर्न सक्नुपर्ने भन्दै शहीदहरूको योगदानबारेको ज्ञान पुस्तान्तरण हुँदै जानुपर्ने बताउनुभयो ।
उपप्रमुख डंगोलले भन्नुभयो, “इतिहासको सम्मान गर्न सक्नुपर्छ । समयसँगै योगदान दिनेहरू पनि अस्ताउँदै जानुहुन्छ । त्यसैले उहाँहरूको योगदानको कदर गर्नुपर्छ । पुस्तान्तरण हुनुपर्छ । पुस्तान्तरण भएपछि मात्रै इतिहासलाई बुझ्ने मान्छेले, इतिहासलाई सम्मान गर्ने व्यक्तिले आज वर्तमानमा सच्चा नागरिक भएर काम गर्नसक्छ । भविष्यको बाटो कोर्नसक्छ ।”