काठमाडौं । ललितपुरको भैंसेपाटीस्थित संघीय सरकारका मन्त्री एवं प्रदेशका मुख्यमन्त्रीको आवास लगायत क्षेत्रमा खानेपानी आपूर्तिका लागि प्रक्रिया सुरू भएको छ । संघीय सरकार खानेपानी मन्त्रालय अन्तर्गत काठमाडौं उपत्यका खानेपानी लिमिटेडले ललितपुर जिल्लाका विभिन्न स्थानमा खानेपानी पुर्याउनका लागि बोलपत्र सहितको प्रक्रिया सुरू गरेको हो ।
यसअघि मन्त्री निवास भैंसेपाटी लगायत ठाउँमा खानेपानीको आपूर्ति भएको थिएन । खानेपानीमन्त्री प्रदीप यादवले शुक्रबार कान्तिपुर टेलिभिजनसँगको कुराकानीमा समेत मन्त्री निवासमा खानेपानीको सप्लाइ व्यवस्था नभएको स्वीकार गर्नुभएको थियो । उहाँले आफू समेत जारको पानी खाने गरेको बताउनुभएको थियो । “जारको पानी पिउँछु । झुटो कुरा किन भन्नु । झुटो बोल्ने मान्छे होइन म । जारको पानी पिउँछु किनकि अहिले पानी सप्लाइ दिएको छैन”, मन्त्री यादवले भन्नुभएको थियो ।
हाल मन्त्री यादवकै निर्देशनमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडले ललितपुर जिल्लाका आठ स्थानमा खानेपानी आयोजना निर्माणका लागि बोलपत्र सहितको प्रक्रिया सुरू गरेको खानेपानी मन्त्रालयले जनाएको छ ।
ललितपुर महानगरपालिका–१८, सैंबु भैंसेपाटीमा रहेको मन्त्री निवास सहित ललितपुर महानगरपालिका–१८, मगरगाउँ, ललितपुर महानगरपालिका–१४, बूढामार्ग, ललितपुर महानगरपालिका–१५, युलेन्स स्कुल, धापाखेल, ललितपुर महानगरपालिका–१७, बाफल, ललितपुर महानगरपालिका–२६, चोखेल, ललितपुर महानगरपालिका–१५, शान्तिनगर माइक्रोपार्क, ललितपुर महानगरपालिका–८, ९ बोजेपोखरी र बालकुमारी पुल गरी जम्मा आठ ठाउँको खानेपानी निर्माणका लागि बोलपत्र आह्वान गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का कार्यकारी निर्देशक अशोककुमार पौडेलले भन्नुभयो, “लिमिटेडले यस कार्यका लागि योग्य कम्पनीलाई समयमै बोलपत्र पेश गर्न आग्रह गरेको छ ।”