संखुवासभा । संखुवासभाको खाँदबारीस्थित महेन्द्र मावि मानेभञ्ज्याङका विद्यार्थी र शिक्षक हरेक महिनाको अन्तिम शुक्रबार जातीय वेशभूषामा सजिएर पुग्छन् । संस्कृति हराउँदै र जातीय पहिचान गुम्दै गएपछि विद्यालयले हरेक महिनाको अन्तिम शुक्रबार विद्यार्थी र शिक्षकलाई जातीय वेशभूषा अनिवार्य गराएको हो ।
महेन्द्र माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत मानसी गुरुङ हरेक महिनाको अन्तिम शुक्रबार आफ्नो संस्कृति झल्कने पहिरनमा सजिएर विद्यालय आउनुहुन्छ । मौलिक वेशभूषामा सजिएर विद्यालय आउन पाउँदा खुशी लागेको विद्यार्थी र शिक्षकहरू बताउँछन् ।
स्थानीय पाठ्यक्रममा समेत संस्कार र संस्कृति संरक्षणसँग सम्बन्धित विषय भएकाले आफूले अध्ययन गरे अनुसारको पहिरनमा सजिएर आउन पाउँदा विद्यार्थी रिपेश दाहाललाई पनि खुशी लागको छ ।
जातीय वेशभूषासँगै विद्यालयमा अन्तिम शुक्रबार विद्यार्थीको सीप, क्षमता र कलाकौशल समेत देख्न पाइन्छ । यसले विद्यार्थीले पनि अन्य जातजातिका संस्कार र संस्कृतिबारे जानकारी पाउने गरेका छन् । विद्यालयमा अध्ययनरत करिब ३ सय विद्यार्थी आआफ्नो वेशभूषामा आउने गरेका छन् ।
अन्तिम शुक्रबार नेवार, तामाङ, शेर्पा, गुरुङ, राई लगायतका जाति समुदायका नृत्यहरू सहित गायन कार्यक्रम हुन्छ । जातीय वेशभूषा अनिवार्य भएपछि विभिन्न जातजातिका पोसाक लगाउँदा विद्यालय रंगीन फूलबारी जस्तो देखिने गरेको छ । यसले धार्मिक सहिष्णुता र जातीय सद्भाव कायम राख्न योगदान पुर्याउनुका साथै महिनाको अन्तिम शुक्रबार महेन्द्र मावि विद्यार्थीका लागि आफ्नोसँगै अन्य जातजातिका वेशभूषा र संस्कृतिबारे कुरा साटासाट गर्ने थलो भएको छ ।