संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका-६ बाह्रबिसे बजारमा बुधबार दिउँसो भएको आगलागीबाट दुई करोडभन्दा बढीको क्षति भएको छ । आगलागीबाट बाह्रबिसेका पाँच वटा घर जलेर नष्ट भएको छ ।
स्थानीय प्रेम लिम्बूका अनुसार पाँचै घरका परिवारले घरमा रहेको गरगहना, लत्ताकपडा र खाद्यान्न झिक्न पाएनन् । आगो करिब दुई घण्टापछि नियन्त्रणमा लिइएको थियो ।
यसबीच आगलागी पीडितलाई सभापोखरी गाउँपालिकाले राहत पनि वितरण गरेको छ । गाउँपालिकाले उनीहरूलाई दुई थान ओड्ने ओछ्याउने, भान्सामा प्रयोग हुने सामग्री र खाद्यान्न वितरण गरेको हो ।
अग्निपीडितहरू आफन्त र छिमेकीकामा बसेका छन् । आगलागीबाट रामबहादुर राई, अमृता राई, लालसिंह लिम्बू, सुशील तामाङ र निर्मला कालाखेतीको घर जलेको प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताउनुभयो । आगलागीबाट पाँच घरका कम्तीमा १७ जना विस्थापित भएका छन् ।
बुधबार दिउँसो २ बजेबाट सल्केको आगोबाट मानवीय क्षति भने भएको छैन । आगो नेपाली सेना, प्रहरी र स्थानीयको सक्रियतामा नियन्त्रणमा लिइएको थियो ।