काठमाडौं । १० वर्ष चलेको सशस्त्र द्वन्द्व सकिएको दुई दशक हुँदा पनि शान्ति प्रक्रियासँग जोडिएको संक्रमणकालीन न्यायका काम र द्वन्द्वकालीन हतियारको त्रास अझै सकिएको छैन । द्वन्द्वकालमा राखिएका विस्फोटक पदार्थहरू शृंखलाबद्ध रूपमा भेटिइरहेका छन् । नेपाली सेनाले राजमार्गदेखि बस्ती-बस्तीमा राखिएका विस्फोटक पदार्थ निष्क्रिय पार्ने क्रमलाई तीव्रता दिइरहेको छ । तर मुख्य राजमार्गहरूमै म्याद गुज्रिएका सिलिन्डर बम फेला पर्न थालेपछि यसले कुनै पनि बेला दुर्घटना निम्त्याउने जोखिम बढेको छ ।
गत बिहीबार पूर्व-पश्चिम राजमार्गको मोरङस्थित सुन्दर हरैचामा विस्फोटक पदार्थ भएको सूचना नेपाली सेनालाई आयो । राजमार्गमुनि तथा नजिकै गाडेर राखिएका सिलिन्डर बम भेटिए । एकै स्थानमा मक्किएर विस्फोट हुन सक्ने जोखिममा रहेका चार वटा सिलिन्डर बम सेनाले निष्क्रिय पार्न सफल भयो । तर यो घटनाले द्वन्द्वकालीन विस्फोटक पदार्थका थप जोखिम रहेको सम्भावना औंल्याएको छ ।
विस्फोटक पदार्थहरू राजमार्गमा मात्र नभइ बस्ती-बस्तीमा पनि भेटिइरहेका छन् । यही पुस १५ गते इटहरी उपमहानगरपालिका कार्यालयकै छेउमा विस्फोटक पदार्थ भेटियो ।
नेपाली सेनाले द्वन्द्वकालीन विस्फोटक पदार्थहरू निष्क्रिय पार्न आफ्ना सबै युनिटमा रहेका बम डिस्पोजल टोली परिचालन गरेको छ । २०८० साउन यता मात्रै देशका विभिन्न १४३ स्थानमा सक्कली बम नै भेटिएका छन् । सेनाले डेढ वर्षमा १४३ सक्कली र २५ स्थानमा नक्कली बम निष्क्रिय पारेको छ ।
द्वन्द्व सकिएपछि र देशमा कुनै सशस्त्र समूह नरहेको अवस्थामा पनि यति धेरै विस्फोटक पदार्थ वेवारिसे भेटिनु जोखिमपूर्ण हो । अहिले सूचनाकै आधारमा बस्ती र राजमार्गहरूमा फेला परेको बम निष्क्रिय पारे पनि द्वन्द्वकालका विस्फोटक पदार्थ तथा हतियार कहाँकहाँ लुकाइएका छन् भन्ने पर्याप्त सूचना छैन । तर गम्भीर दुर्घटना निम्त्याउने स्थानमा भेटिन थालेको सेनाको बुझाइ छ ।
“राजमार्ग र बाटोमा बढी मात्रामा विस्फोटक पदार्थ देखिएको छ । देशव्यापीरूपमा बम डिस्पोजल टिम छ । खबर प्राप्त हुनासाथ यो टिम सक्रिय हुन्छ र त्यहाँ पुगेर आफ्नो प्रक्रिया अनुसार निष्क्रिय पार्छ”, नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले बताउनुभयो ।
सेनाको तथ्यांक अनुसार ५० जिल्लामा यस्ता विस्फोटक पदार्थ भेटिएका छन्, जसमध्ये सबैभन्दा धेरै संखुवासभामा ६६ विस्फोटक पदार्थ फेला परेका छन् । कपिलवस्तुमा ३५ स्थानमा बम भेटिएका छन् भने माओवादीको बढी प्रभाव रहेको कञ्चनपुरमा पनि १० स्थानमा बम फेला परेको छ । डेढ वर्षमा काभ्रे, सिन्धुली, मोरङसहित ५० जिल्लामा सेनाले विस्फोटक पदार्थ निष्क्रिय पारे पनि तत्कालीन विद्रोही पक्ष माओवादीले कतै सूचना दिएको छैन ।
२०६२ कात्तिकमा औपचारिक रूपमा द्वन्द्व सकिएयता भएका विस्फोटहरूमा मात्रै बालबालिका सहित २१ जनाको मृत्यु तथा १०८ घाइते भएको सुरक्षा निकायको तथ्यांक छ । तत्कालीन विद्रोही पक्ष माओवादीले आफैंले राखेको हतियार र विस्फोटक पदार्थबारेको सूचना दिइरहेको छैन । तर, अहिले विस्फोटक पदार्थ फेला परिरहेकाले यसले दुर्घटना निम्त्याउन सक्ने तत्कालीन लडाकु कमान्डर जनार्दन शर्मा बताउनुहुन्छ ।
“एकचोटी हामीले देशैभरि खोजी गरेको, घरमा नराख्न अभियान चलाएको हो । तर फेरि व्यक्ति विशेषले लुकाएर राखेको, झ्याङमा परेको, अथवा लडाइँका बेला छुटेको हुन सक्छन् । हतियारहरूको सन्दर्भमा मूलभूतरूपमा क्यान्टोनमेन्टमै राखेको हो त्यहींबाट समायोजन अन्तर्गत सेनासँगै छ । अब विभिन्न ठाउँमा छुटेका हतियार पछि बनेका पार्टीसँग हुन सक्छन्”, माओवादी केन्द्रका नेता जनार्दन शर्माले बताउनुभयो ।
शान्ति प्रक्रियापछि पनि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको माओवादीले केही वर्ष विस्फोटका घटना गराएपछि सरकारले उक्त समूहमाथि प्रतिबन्ध नै लगायो । विप्लव समूहसँग द्वन्द्वकालीन हतियार कति छन् भन्ने सरकारले पनि खोजी गरेन । त्यही समूहले जावलाखेलस्थित एनसेलको कार्यालयमा मानवीय क्षति हुनेगरी विस्फोट गराएको थियो । अहिले जंगल, बस्ती र विभिन्न स्थानमा बेवारिसे अवस्थामा म्याद सकिन लागेका विस्फोटक पदार्थ भेटिए पनि स्थानीयले सेना तथा सुरक्षा निकायलाई खबर नगर्दा दुर्घटनाको जोखिम थप बढाएको छ । सुरक्षा निकायको ब्यारेक क्षेत्रमा राखिएका माइन भने हटाइसकेको सेनाले जनाएको छ ।
द्वन्द्वका पीडितहरूले न्याय पाउन नसकिरहेका बेला हतियार र बमको त्रास कायम रहनु स्वाभाविक छैन । त्यसैले तत्कालीन विद्रोही समूह आफैंले सूचना दिएर द्वन्द्वकालीन हतियार व्यवस्थापनमा सहयोग गर्नुपर्ने छ भने राज्यले पनि गम्भीरताका साथ खोजी नगरे निम्तिने दुर्घटना अकल्पनीय हुन सक्छ ।