काठमाडौं । जाजरकोट भूकम्प र यसपालिको मनसुनजन्य विपद्बाट भएको क्षतिको पुनःनिर्माण र पुनःस्थापनका लागि एक खर्ब एक अर्ब लाग्ने प्रस्ताव गरिएको छ । आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले विपद्पछिको पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत गरेको छ ।
बैठकले यसअघि २०८१ असार ३१ गतेयताका विपद्मा परी बेपत्ता भएका परिवारलाई दुई लाख उपलब्ध गराउने निर्णय गरेको थियो । २०८० सालदेखि नै बेपत्ता भएकाहरूको हकमा उक्त निर्णय लागू हुने परिषद्ले जनाएको छ ।
यसैगरी परिषद् बैठकले अब पुनःनिर्माण तथा पुनःस्थापनका योजना माग्दा सबै पालिकाले प्राधिकरण मार्फत् प्रस्ताव गर्नुपर्ने र अर्थ मन्त्रालयले प्राधिकरणलाई बजेट दिने निर्णय गरेको छ । जाजरकोट भूकम्पको क्षति मूल्यांकन गर्दा चाहिने जनशक्ति यकिन गर्न गृहमन्त्रीको संयोजकत्वमा समिति बनाउने निर्णय पनि भएको छ ।