बाँके । दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर सहित पश्चिम तराईका थारू बस्तीमा माघी पर्वको रौनक सुरू भइसकेको छ । तर विपन्न वर्गका मुक्त कमैयाको बस्ती र घर आँगन भने सुनसान देखिन्छन् ।
लगलगी काँप्ने जाडोमा कसैको बस्ने वास गतिलो छैन । तपतपी शीत चुहिने छाप्रामुनि परालको ओछ्यान अनि झुत्रा कपडा ओढेर रात कटाइरहेका उनीहरूसँग खाने अन्न पनि छैन । ऋणमाथि ऋणको भार थपिँदै छ । तीन तहका सरकार भए पनि गरिबीको चरम चपेटामा परेका मुक्त कमैयाले आफनो सांस्कृतिक पर्व मनाउन कतैबाट कुनै सहयोग पाएका छैनन् ।
बाँके लखनवारकी मुक्त कमैया लौटी थारूको छाप्रोमा खानलाई अन्न छैन । त्यसमाथि शीतलहरका कारण लगलगी काँप्ने जाडो, अनि परालको ओछ्यान । थोत्रा कपडा ओढेर रात कटाउन निकै मुस्किल भइरहेको बताउने लौटी निकै कष्टकर अवस्थाका कारण निराश र खिन्न देखिनुहुन्छ । “जाडोमा त चिसो हावा लाग्छ । लगलग काँप्दै सुत्छौं । चारैतिर बोराले बेर्छौं । हाम्रो यस्तै समस्या छ । हावाहुरी र पानी आयो भने छाप्रो छाडेर भाग्नुपर्छ”, थारूले बताउनुभयो ।
यस्तै अवस्थामा हुनुहुन्छ अर्की मुक्त कमैया मोहनी थारू । नयाँ वर्षका रूपमा पनि मनाइने माघी दैलोमै आइसकेको छ । तर मोहनीलाई ठूलो आर्थिक संकट छ । ऋण खोज्नु बाहेक विकल्प छैन । जाडोले ज्यानै जाला जस्तो हुने उहाँ बताउनुहुन्छ । “कुनै काम गरेर भए पनि ओढ्ने ओछ्याउने त जुगाड लगाउनै पर्ला । त्यसै सुत्यो भने त जाडोले मरिन्छ । अरू उपाय छैन”, उहाँले बताउनुभयो ।
लाऊँलाऊँ खाऊँखाऊँ अवस्थाकी निरमा थारूले पनि गरिबीका कारण माघीको रौनकताले पटक्कै नछोएको बताउनुभयो । डुडुवा नाला छेउको यो बारीमा पाकेको तोरी उखेल्न व्यस्त निरमा अलिकति तोरी बिक्री गरेर एक-दुई छाक भए पनि मीठो मसिनो खाने तयारीमा हुनुहुन्छ ।
यस्ता कैयौं मुक्त कमैयाको बस्तीमा माघीको कुनै संकेत देखिँदैन । जबकि, सरकार र सरकारी निकायले संस्कृति संरक्षणका नाममा बर्सेनि ठूलो रकम खर्च गरिरहेका छन् । कमैया मुक्तिका लागि २५ वर्ष संघर्ष गरेका कुजीया थारू राजनीतिक दलका नेता, सरकार, मन्त्रीसँगै सरकारी तथा गैरसरकारी संस्थाहरूले आश्वासन बाहेक संकटमा साथ नदिँदा अवस्थामा परिवर्तन नभएको र माघीका बेलामा समेत दुई छाक खान नपाउने अवस्थामा पुगेको बताउनुहुन्छ ।
अति दयनीय अवस्थाका यस्ता कति मुक्तकमैया छन्, सरकारसँग कुनै तथ्यांक छैन । २०५७ साउन २ गते सरकारले मुक्तिको घोषणा त गर्यो तर जीविकोपार्जनको व्यवस्था नगरेकाले अझै मुक्तिको अनुभूति गर्न नसकेको सामाजिक अभियन्ताको भनाइ छ । थारू समुदायको मुख्य चाड माघी पर्वका बेला समेत के खाने ? कहाँ बस्ने ? के लगाउने ? भन्ने संकटमा परेका मुक्त कमैयाको व्यथा कहिले र कसले बुझिदिने ?