साफ्टाको सदस्यबाट नेपाल बाहिरिनुपर्छ : पूर्वअर्थमन्त्री महत

पुस २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
साफ्टाको सदस्यबाट नेपाल बाहिरिनुपर्छ : पूर्वअर्थमन्त्री महत

काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले दक्षिण एशियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) को सदस्य राष्ट्रको रूपमा नेपाल बाहिर निस्कनुपर्ने बताउनुभएको छ । आइतवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा भएको भन्सार ऐनका विषयमा सरोकारवाला निकायहरूसँगको छलफलमा बोल्दै पूर्वअर्थमन्त्री महतले साफ्टाको सम्झौता सदस्य राष्ट्रहरूमा नै बढ्दो बेवास्ता भएकाले नेपाल बाहिर निस्कन आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले सम्झौताको मूल मान्यता विपरीत अन्य राष्ट्रले सहमति नमान्ने तर नेपालले मात्रै मान्नुपर्ने अवस्था रहेकाले बाहिर निस्कन आवश्यक रहेको बताउनुभयो । उहाँले साफ्टामा नेपालले न्यून भन्सार वा भन्सार रहित भनेर हस्ताक्षर गरे पनि अरू देशले त्यो सहमति पालना नगरेको बताउनुभयो । उहाँले भारत लगायत देशमा उत्पादन भएका वस्तुहरूमा छुट दिएर नेपालले मात्रै बोझ खपिरहने अवस्थामा बस्न नहुने बताउनुभयो । यस्तै, पूर्वमन्त्री महतले नेपालले अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा हस्ताक्षर गर्न हौसिने प्रवृत्तिमा विचार पुर्‍याउनुपर्ने अवस्था आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “साफ्टामा नेपालले न्यून भन्सार वा भन्साररहित भनेर हस्ताक्षर गर्‍यो । अरू देशले त्यो पालना गरेनन् । बंग्लादेश लगायतले पालना गरेन । नेपालले मात्रै भारत लगायतमा उत्पादन भएका वस्तुहरूमा छुट दियौं । साफ्टाबाट नेपाल बाहिर निस्कनुपर्छ । त्यसको प्रक्रिया के छ त्यो विषयमा पनि बुझ्न आवश्यक छ । त्यसको औचित्य छैन ।”


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement