खोटाङ । सगरमाथा लोकमार्ग अन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशी नदीस्थित फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलिब्रिज सञ्चालनमा आएको छ । गत असोज–१२ गते आएको भीषण बाढीले मोटरेबल पक्की पुल बगाएपछि त्यसको वैकल्पिक व्यवस्थापन गर्न अस्थायी बेलिब्रिज जडान गरिएको हो ।
खोटेहाङ गाउँपालिका–९ को लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आपटारको सिमानामा पर्ने फोक्सिङटारमा १ करोड २ लाख ९४ हजार लागतमा अस्थायी बेलिब्रिज जडान गरेर सञ्चालनमा ल्याएको हो । बेलिब्रिज जडान गर्न र सञ्चालनका लागि संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय उदयपुरले मंसिर–२८ गते ठेकेदार कम्पनी आरएन कन्स्ट्रक्सन मल्टिपर्पोज प्रालीलाई जिम्मा दिएको थियो ।
हिउँदभर करिब छ महिना सञ्चालन हुने अस्थायी बेलिब्रिज आज (शनिबार) कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले औपचारिकरुपमा उद्घाटन गर्नुभएको छ ।
फोक्सिङटार पुल बाढीले बगाएको साढे तीन महिनापछि अस्थायी बेलिब्रिज जडान गरेर सञ्चालनमा ल्याइएसँगै खोटाङबाट यसअघि बिच्छेद भएको पूर्वी तराईसँगको सिधा यातायात पुनः सुचारु भएको छ ।
फोक्सिङटारमा २०७९ सालमा १२० मिटर लामो ‘आर्क’ डिजाइनको मोटरेबल पक्की पुल बनेपछि लामो समय अघिदेखि बर्सेनि अस्थायी बेलिब्रिज जडान गरेर यातायात सञ्चालन गर्ने र झिकेर राख्नुपर्ने बाध्यता अन्त्य भएको थियो । तर, दुई वर्ष नबित्दै फोक्सिङटारको मोटरेबल पुल बाढीले बगाएपछि फेरि अस्थायी बेलिब्रिजको भर पर्नुपर्ने बाध्यता दोहोरिएको हो ।