जुम्लाका स्थानीय साग बेचेरै दैनिक १५ सयसम्म कमाउँदै

पुस २५, २०८१ |डीबी बुढा
जुम्लाका स्थानीय साग बेचेरै दैनिक १५ सयसम्म कमाउँदै

जुम्ला । साग र धनियाँ मात्रै बेचेर जुम्लाको चन्दनथानका स्थानीयले बर्सेनि लाखौं रुपैयाँ भित्र्याउँछन् । चन्दननाथ नगरपालिका-८ स्थित बयालकाटिया गाउँ हिउँदका तीन महिनामा साग र धनियाँ बेचेर १० लाख रुपैयाँसम्म भित्र्याइरहेको छ ।

पहिले मार्सी धान झुल्ने बयालकाटियाको जिउलोमा अचेल टनेल नै टनेल छ- ८० घरधुरी रहेको यो गाउँका आधाभन्दा बढी घरपरिवार अहिले साग र धनियाँ खेतीमा लागेका छन् ।

यहाँको उत्पादन सदरमुकाम खलंगाका तरकारी पसलमा बिक्री हुन्छन् । पहिले डोकोमा बोकेर सदरमुकाम पुर्‍याउनुपर्थ्यो अहिले थोक व्यापारी गाउँमै पुग्छन् ।

एक किसानले दिनमा १५० मुठासम्म साग धनियाँ बेच्छन् । प्रतिमुठा १० रुपैयाँले दैनिक १५ सयसम्म आम्दानी हुन्छ । बयालकाटियाका किसानको घर खर्च यसकै आम्दानीले चलेको छ ।

पहिले जंगली साग सुकाएर हिउँदमा खाने चलन थियो । अहिले ताजा साग खान पाइएको छ । यसले बालबालिकाको पोषणस्तरमा सुधार ल्याउन ठूलो मद्दत गरेको छ । बयालकाटियाका एक घरले न्यूनतम २० देखि अधिकतम ३० हजार रुपैयाँ साग बेचेरै कमाउने गरेका छन् ।


Image

डीबी बुढा

बुढा कान्तिपुर टेलिभिजनका जुम्ला संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement