पर्सा । नेपाल आउने भारतीय पर्यटकको सुविधालाई लक्षित गरी वीरगन्ज भन्सार कार्यालयले अघि बढाएको व्यवस्थापनको काम प्रभावकारी देखिएको छ । नेपाल प्रवेश गर्दा भन्सार बिन्दुमा पर्यटकसँग गरिने व्यवहार र सुविधा राम्रो भएमा नेपालप्रति पर्यटकको धारणा सकारात्मक हुने भन्दै भन्सार कार्यालय यात्रु शाखालाई थप व्यवस्थित बनाएसँगै नेपाल प्रवेश गर्न वीरगन्ज नाका भारतीयहरूको रोजाइमा पर्न थालेको छ ।
खाल्डाखुल्डी परेको धुलाम्य बाटो र भन्सार बिन्दुमा हुने धकेलाधकेलले भारतबाट नेपाल प्रवेश गर्ने यात्रुलाई निकै सास्ती हुने गरेको थियो । अझ जाँचको नाममा भन्सार बिन्दुमा उनीहरूसँग गरिने व्यवहारले यो नाकाबाट एक पटक नेपाल प्रवेश गर्ने भारतीय पर्यटक दोस्रो पटक नेपाल जानै नपरोस् भन्ने अवस्थामा पुग्थे । यो नाका भएर आउनखोज्ने आफन्त र साथीभाइलाई सकभर नजान सुझाउँथे । तर अहिले त्यस्तो अवस्था छैन । यसको मुख्य कारण हो भन्सारको यात्रु शाखाको थप व्यवस्थापन र यात्रुसँग गरिने मित्रवत् व्यवहार ।
“पहिला यो ठाउँ निकै फोहोर र दुर्गन्धित थियो । अहिले निकै साफसुग्घर भएको छ । यहाँका कर्मचारीको व्यवहार पनि राम्रो छ । भारतीय सवारी लिएर आउँदा कागजपत्र सही छन् भने कुनै समस्या छैन । टुरिस्ट एरिया हो नेपाल, छुट्टी मनाउन आउँछौ, जान्छौं”, भारतीय पर्यटक सदावृक्षकुमार बैठाले बताउनुभयो ।
नेपाल घुम्न आउने धेरै भारतीय पर्यटक गन्तव्यसम्म पुग्न भारतीय नम्बर प्लेटको आफ्नै निजी सवारी लिएर यो नाकाबाट प्रवेश गर्छन् । पहिले भारतीय नम्बर प्लेटको सवारीसाधन लिएर आएका यात्रुलाई भन्सारका कर्मचारीसँग साँठगाँठ गरेका दलाल र प्रहरीले भन्सार बिन्दुदेखि नै अनेक बहानामा सास्ती दिने गरेको गुनासो सुनिन्थ्यो । यात्रु शाखालाई व्यवस्थित गर्दै भन्सारले यस्ता गतिविधिमाथि निगरानी बढाएपछि अहिले त्यसमा निकै कमी आएको छ ।
पहिला भन्सार यार्ड भएको यो ठाउाको सरसफाईसँगै पूर्वाधारमा सुधार गरी भन्सार कार्यालयले यसलाई यात्रु शाखाको रूपमा व्यवस्थित गरेको हो । भारतबाट नेपाल प्रवेश गर्ने यात्रुका लागि चाहिने सबै सूचना प्रदान गर्न यात्रु शाखाको भवनबाहिर सोधपुछ काउन्टरको राखिएको छ ।
यात्रुसँग सम्बन्धित सबै सूचना तथा जानकारी यहाँको भित्ता र बोर्डमा लेखिएको छ । भारतीय यात्रुले ल्याएको भारतीय मुद्रा साट्न एभरेस्ट बैंकको शाखा यात्रु शाखामै राखिएको छ ।
भारतीय यात्रुसँग कसैले दुर्वयवहार नगरोस् भनेर निगरानीका लागि सीसी क्यामरा जडान गरिएको छ । भन्सार बिन्दु भएर नेपाल प्रवेश गर्ने र भारत जाने सवारीसाधनसँगै यात्रुको व्यवस्थित जाँचका लागि मुख्य सडकलाई एकतर्फी बनाइएको छ भने गेटमै पर्यटक सहायता कक्ष राखिएको छ ।