बझाङमा भएका छुट्टाछुट्टै दुर्घटनामा पाँच जनाको मृत्यु

पुस १९, २०८१ |वसन्तप्रताप सिंह
बझाङमा भएका छुट्टाछुट्टै दुर्घटनामा पाँच जनाको मृत्यु

बझाङ । बझाङमा भएका दुई वटा छुट्टाछुट्टै जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।

शुक्रबार राति करिब साढे ८ बजे तलकोट गाउँपालिकाबाट चैनपुरतिर आइरहेको से१ज ८४३ नम्बरको जीप तलकोट गाउँपालिका–२ सुकगाडमा दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा जीप चालक केदारस्युँ गाउँपालिका–१ रायलका ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका–४ का ३६ वर्षीय बमबहादुर धामी, ७२ वर्षीया जोगेनीदेवी धामी र मृतक बमबहादुरकी छोरी पाँच वर्षीया आकृति धामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिं ठगुन्नाले जानकारी दिनुभयो ।

जीप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो । चालक सहित तीन जनाको घटनास्थलमै र पाँच वर्षीया बालिकाको उपचारका लागि सदरमुकाम ल्याउदै गर्दा बाटोमा मृत्यु भएको हो ।

यस्तै शुक्रबार राति नै करिब ९ बजे मष्टा गाउँपालिकाको भातेखोलाबाट रनाडातर्फ आउँदै गरेको सुपप्र-०१-००१ज १३९८ नम्बरको जीप कोटदेवल भन्ने ठाउँमा दुर्घटनामा पर्दा ४२ वर्षीय जीप चालक धर्म थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । चालक मात्रै सवार रहेको उक्त जीप सडकबाट एक सय मिटर तल खसेको प्रहरी सहायक निरीक्षक जयबहादुर डाँगाले बताउनुभयो ।


Image

वसन्तप्रताप सिंह

सिंह कान्तिपुर टेलिभिजनका बझाङ संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement