काठमाडौं । पहाडकी रानी उपनामले परिचित तनहुँको बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘बन्दीपुर भ्रमण वर्ष, २०२५' आयोजना हुने भएको छ । नयाँ पर्यटकीय गन्तव्यको पहिचान, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि चलायमान गराउने उद्देश्यले बन्दीपुर गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रूपमा मनाउने निर्णय गरेको हो ।
भ्रमण वर्ष सफल पार्न पर्यटन व्यवसायी बैश गुरुङको संयोजकत्वमा २१ जनाको भ्रमण वर्ष सचिवालय समेत गठन गरेको गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिनुभयो । सचिवालयमा होटल संघ, रेष्टुरेन्ट तथा बार एसोसिएसन (रेवान), पर्यटन विकास समिति, उद्योग वाणिज्य संघ, होमस्टे महासंघ लगायतको प्रतिनिधित्व रहेको उहाँले जानकारी दिनुभयो ।
"प्राकृतिक एवं सांस्कृतिक सम्पदाहरूको संरक्षण एवं विकास गर्दै जिम्मेवार पर्यटकीय क्रियाकलापका माध्यमबाट समृद्ध एवं सुसंस्कृतयुक्त बन्दीपुरको परिकल्पना र पर्यटक आगमनको संख्या वार्षिक दुई लाख पुऱ्याउने उद्देश्य सहित बन्दीपुर भ्रमण वर्ष आयोजना गरिएको हो", अध्यक्ष थापाले भन्नुभयो ।
सचिवालय संयोजक गुरुङका अनुसार भ्रमण वर्षमा वार्षिक एक लाख आन्तरिक र एक लाख विदेशी पर्यटक वास बस्ने गरी ल्याउने योजना बनाइएको छ । उहाँले भन्नुभयो, "भ्रमण वर्षलाई आधार वर्ष मानेर आगामी तीन वर्षमा वार्षिक आठ लाख पर्यटकलाई बन्दीपुर पुऱ्याउने हाम्रो लक्ष्य छ ।"
गुरुङका अनुसार भ्रमण वर्षमा पर्यटकको औसत बसाइ तीन दिन बनाइनेछ । साथै विदेशी पर्यटकको दैनिक औसत खर्च ७५ अमेरिकी डलर र नेपाली पर्यटकको औसत खर्च दैनिक तीन हजार रुपैयाँ पुऱ्याइनेछ ।
हाल बन्दीपुरमा मात्रै ७५ होटल र चार वटा होमस्टे (घरवास) का साथै समग्र गाउँपालिकामा १२० होटल र १२ वटा होमस्टे सञ्चालनमा छन् । जसमा दैनिक एक हजार सात सय जना अट्ने क्षमता छ । "भ्रमण वर्ष मार्फत पर्यटकीय सुविधायुक्त होमस्टे सर्किटको प्रवर्द्धन गरिनेछ भने विद्यमान पर्यटकीय केन्द्र र उपजहरूका अतिरिक्त कम्तीमा थप पाँच गन्तव्यको पहिचान, विकास र प्रवर्द्धन गरिनेछ", उहाँले भन्नुभयो ।
भ्रमण वर्ष सफल पार्न कुल चार करोड ४३ लाख ५० हजार रुपैयाँ खर्च हुने गाउँपालिकाको अनुमान छ ।