समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको भूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री

पुस १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको भूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको उन्नयनले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको नेपाल संस्कृत विश्वविद्यालयको ७७औं सभालाई सम्बोधन गर्दै कुलपति समेत रहेका ओलीले संस्कृत शिक्षाले समाजको विकासका सन्दर्भमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले विज्ञानसँग जोड्दै यसको संरक्षण, खोज र अनुसन्धानमा सरकारले ध्यान दिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपालको आधुनिक शिक्षाको विकासको जगका रूपमा रहेको संस्कृत शिक्षाले राजनीतिक जागरण सिर्जना गर्ने काममा पनि योगदान दिएको र वेदको अर्थ पनि विज्ञान भएकाले यस शिक्षालाई अगाडि बढाउन विश्वविद्यलयले अगुवाइ गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले अहिलेको सरकारले विश्वविद्यालयका भौतिक सम्पत्तिको रक्षा र स्वर्गद्वारी गुठी लगायत छरपस्ट रहेका जग्गाहरूको उचित जगेर्ना गर्ने पनि स्पष्ट गर्नुभयो ।

बैठकमा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रिय शिक्षा नीति, २०७६ बमोजिम उच्चशिक्षालाई प्रतिस्पर्धी, उत्पादनमुखी र अनुसन्धानमुखी बनाउनुपर्नेमा जोड दिनुभयो । उपकुलपति प्राडा धनेश्वर नेपालले प्राचीन ऋषिमहर्षिहरूको लामो तपस्याद्वारा निःसृत संस्कृत वाङ्मयमा ज्ञानविज्ञानको धारा प्रवाहित हुँदै आएकाले यसको मौलिकताको रक्षाका साथै आधुनिकीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक शैक्षिक कार्यक्रम तथा बजेट पनि पारित गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement