खोटाङ । सगरमाथा लोकमार्ग अन्तर्गत दिक्तेल-गाईघाट सडकखण्डको फोक्सिङटारस्थित सुनकोशी नदीमाथि अस्थायी बेलिब्रिज जडान सुरू भएको छ ।
खोटेहाङ गाउँपालिका-९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका-६ आँपटार जोड्ने मोटरेबल पक्की पुल गत असोज १२ गते आएको बाढीले बगाएको थियो । फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गर्न र खोल्नका लागि संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय उदयपुरले एक करोड २९ लाख ४६ हजार रुपैयाँको लागतमा यही पुसभित्र बेलिब्रिज सञ्चालनमा ल्याउने गरी काम अगाडि बढाएको हो ।
बाढीले पक्की पुल बगाएपछि खोटाङबाट पूर्वी तराईसँगको सीधा यातायात सेवा विच्छेद भएको छ । अहिले खोटाङबाट रसुवाघाटसम्म गाडीमा पुगेर त्यहाँबाट पैदल झोलुङे पुल तरेर उदयपुरबाट अर्को गाडी चढेर तराई जानुपर्ने बाध्यता छ ।