सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर २ लुक्ला नजिकको सुर्के गाउँसम्म सडक पहुँच पुगेको छ । गाउँपालिकाको मुख्य लगानीमा दुई वर्षदेखि थालिएको सडकको ट्र्याक खन्ने काम सकिएसँगै सुर्केमा यात्रुबाहक बस पुग्न थालेका छन् ।
गाउँपालिकाको वडा नम्बर १ खरिखोला देखि वडा नम्बर २ सुर्केसम्म १६ करोडको लागतमा करिब २५ किलोमिटर सडकको ट्र्याक खनिएसँगै पर्यटकका लागि विश्वको सर्वोच्च शिखर सगरमाथा पुग्ने वैकल्पिका मार्ग खुलेको छ ।
यसअघि माप्य दूधकोशी गाउँपालिकाले खरिखोलासम्म सडकको ट्र्याक खोलेको थियो । खरिखोलादेखि सुर्केसम्म भने खुम्बुपासाङल्हामु गाउँपालिकाले बाटो बनाएको खुम्बु पासाङल्हामुका प्रवक्ता लाक्पाछिरी शेर्पाले बताउनुभयो । खरिखोलादेखि थामडाँडासम्म १२.३ किलोमिटर सडक पालिकाको ६ करोड १४ लाखमा खनिएको छ भने थामडाँडादेखि सुर्केसम्म १२.५ किलोमिटर सडक ठेक्का मार्फत १० करोड ५२ लाख लागतमा निर्माण सम्पन्न भएको हो ।
साढे १२ किलोमिटर सडकमा गाउँपालिकाको ५० प्रतिशत र बाँकी ५० प्रतिशत दुई वटा जलविद्युत् आयोजनाहरू (सिल्क पावर र दूधकोशी छैटौं) ले लगानी गरेको पालिकाका लेखा शाखा प्रमुख चेतनाथ कट्टेलले बताउनुभयो ।
अब जिल्ला सदरमुकाम सल्लेरीबाट ६४ किलोटिर दूरी पार गरेर सुर्केसम्म सवारी साधानमा पुग्न सकिन्छ । थामेको बाढीले दूधकोशीमा राखेको मितेरीपुलमा क्षति गरेपछि अहिले दूधकोशी नदीमा अस्थायी ह्युम पाइप राखेर सडक सञ्जाल पुर्याइएको छ ।
दूधकोशीपारि खरिखोला र पैयाँ खोला गरी दुई ठाउँमा ह्युम पाइप राखेर मालबाहक गाडी तथा सवारी साधनहरू सुर्के पुर्याइएको गाउँपालिकाका प्रवक्ता शेर्पाले बताउनुभयो ।
खुम्बु क्षेत्रमा लुक्ला नजिकै मोटर पुगेसँगै यसलाई लुक्ला विमानस्थलको गतिलो विकल्पका रूपमा हेरिएको छ । मौसम प्रतिकूल हुँदा विदेशी पर्यटकहरू खुम्बु आउनका लागि हप्तौंसम्म रामेछापको मन्थलीमा कुर्नुपर्छ ।
सुर्केबाट लुक्ला नपुगी डेढ घण्टाकै पैदल यात्रामा फाक्दिङ पुग्न सकिने भएपछि पर्यटकका लागि भरपर्दो विकल्प सडकमार्ग भएको पर्यटन व्यवसायी निमा शेर्पाले बताउनुभयो । सडक पुगेसँगै आधा पर्यटकहरू सडक मार्गबाटै खुम्बु जाने पर्यटन व्यवसायी निराजन शर्माले बताउनुभयो ।
उक्त सडकको यही पुस २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको गाउँपालिकाले जनाएको छ ।